चाँदनी हमाल
काठमाडौँ, मङ्सिर २८ गते । देख्नै कठिन र उच्च हिउँ नै हिउँले ढाकिएको कठिन भौगोलिक वातावरणमा बस्न रमाउने हिउँ चितुवा हेर्न र यसबारे जानकारी लिन अब हिमाल नै चढ्नु नपर्ने भएको छ । यस दुर्लभ प्राणी कस्तो ठाउँमा बस्छ, कसरी शिकार गर्छ, कस्तो शिकारमा रमाउँछ जस्ता पक्ष अब एउटा निश्चित ठाउँमा बसेर थाहा पाउन सकिने भएको छ ।
हिउँ चितुवामा रेडियो कलर जडान गरेपछि यस्तो सहजता भएको हो । यस्तो थाहा पाउनकै लागि से फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुई हिउँ चितुवामा रेडियो कलर जडान गरिएको छ । जसबाट सूचना आउन थालेको छ । प्रविधि जडानपछि हिउँ चितुवा आहराको खोजीमा हिँड्दै गर्दाको बाटो र स्थानका सङ्केत स्याटलाइट कलरले पठाइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । घाँटीमा जडान गरिएको स्याटलाइट कलरको माध्यमबाट हिउँ चितुवाले विचरण गरिरहेको स्थान विशेषको जानकारी निकुञ्ज विभागको कम्प्युटरमा आइरहेको छ ।
“यतिबेला हिँडेर त्यति टाढा पुगेको अवस्था छैन्”, विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “हिउँको समयमा यो उच्च हिमाली भेगमा भन्दा तल्लो भेगमै रमाउने गरेकाले पनि होला तल्लो भेगमै यसले आफ्नो गतिविधि कायम राखेको छ ।” प्राप्त सूचनाबाट हिउँ चितुवाको विभिन्न क्षेत्रको विचरण, यसको बासस्थान र आनीबानीको विश्लेषण गरिनेछ ।
निकुञ्ज क्षेत्रका जेदोराङ र स्यामलिङ नामका दुई भाले हिउँ चितुवामा स्याटलाइट कलर जडान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । गएको कात्तिक ३० गते करिब चार वर्षको हिउँ चितुवामा र यही मङ्सिर २ गते करिब पाँच वर्षको हिउँ चितुवामा स्याटलाइट कलर जडान गरिएको हो ।
भविष्यमा हिउँ चितुवाको संरक्षणमा प्रभावकारी योजना बनाउन सूचनाले सघाउने संरक्षणकर्मी बताउँछन् । डब्लूडब्लूएफको आर्थिक तथा प्राविधिक सहयोग अन्नपूर्ण संरक्षण क्षेत्रमा आठ र से फोक्सुण्डो निकुञ्ज क्षेत्रमा चारवटा गरी १२ वटा हिउँ चितुवामा स्याटलाइट कलर जडान गर्ने योजना अनुसार थप दुई हिउँ चितुवामा जडान गरिएको विभागले स्पष्ट पारेको छ ।
हिमाली भेगको कञ्चनजङ्घा, भारत र चाइना तिब्बततर्फ नेपालको हिउँचितुवा आवतजावत गरेको प्रमाण यसअघि जडान गरिएका यन्त्रले दिएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकरी दिनुभयो । सोहीअनुसार माथिल्लो भेगका हिउँचितुवाको गतिविधि र आनीबानी पत्ता लगाउन यस प्रविधिले सघाउ पु¥याउने उहाँले जानकारी दिनुभयो । यसअघि नै कञ्चनजङ्घा क्षेत्रमा दुई हिउँचितुवामा स्याटेलाइट रेडियो कलर जडान गरिएको थियो । आउँदो पाँच वर्षभित्र बाँकी हिउँचितुवामा पनि स्याटलाइट कलर जडान गरी अध्ययन गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालको अन्नपूर्ण क्षेत्रमा मात्र झण्डै १२ हिउँचितुवाको आवागमन क्यामरा ट्रापिङका क्रममा देखिएको थियो । त्यस्तै पूर्वी क्षेत्रमा तीनवटा देखिएका थिए । नेपालमा करिब चार सय हिउँचितुवा रहेको अनुमान गरिएको छ । विस्तृत अध्ययन भने भएका छैनन् ।
अध्ययन केन्द्र निर्माण सुरु
हिउँ चितुवा संरक्षणका लागि सरकारले पाँच करोड रुपियाँ दिने घोषणासँगै हिमालयन रिसर्च सेन्टरको परियोजनामा विभागले काम सुरु गरेको छ । “गएको वर्षदेखि कञ्चनजङ्घामा काम सुरु भएको छ”, श्रेष्ठले भन्नुभयो, “यसको अध्ययन विशेष गरी हिउँ चितुवामा केन्द्रित हुनेछ ।”
अत्याधुनिक यन्त्रजडित यो अध्ययन केन्द्र विश्वकै नमुना बनाइने छ । जसमा विदेशी अनुसन्धानकर्ता समेत ढुक्कले बसेर अध्ययन गर्ने वातावरण हुनेछ । उहाँका अनुसार यस प्रकारको अध्ययन केन्द्रले विदेशीलाई नेपालमा आमन्त्रण गरेर अध्ययन तथा संरक्षणमा लगानी भिœयाउन सघाउ पु¥याउने
उहाँ बताउनुहुन्छ ।
विश्वमा हिउँचितुवाको सङ्ख्या बढाउने, अध्ययन र संरक्षण तथा यसको व्यवहारको अनुगमन गर्ने विषयमा हालसम्म १२ देशमध्ये नेपालको काम उत्कृष्ट मानिन्छ । १२ देशका २३ स्थान हिउँचितुवा पाइने स्थानका रूपमा चिनिन्छन् । जसमध्ये हिउँ चितुवा पाइने तीन भौगोलिक क्षेत्रमा नेपाललाई विभाजन गरिएको छ । विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु, बरुण, सगरमाथा र लाङटाङ निकुञ्ज पूर्वी क्षेत्रका हिउँचितुवा पाइने स्थानमा पर्छन् ।