logo
२०८१ मंसिर १२ बुधवार



सन्तोषजनक छैन केयुकेएलको प्रगति

राष्ट्रिय |


सन्तोषजनक छैन केयुकेएलको प्रगति


लक्ष्मण दर्नाल

काठमाडौँ, पुस १ गते । मेलम्ची खानेपानी विकास समिति आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को कार्य प्रगति सन्तोषजनक देखिएको छैन । आर्थिक वर्ष २०७६÷०७७ मा खानेपानी मन्त्रालय मातहतका निकायको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक देखिए पनि केही निकायको प्रगति भने निक्कै सुस्त छ ।
निर्देशनालयले पूरा गरिसक्नु पर्ने काम गरेको छैन भने लिमिटेडले उपलब्ध खानेपानीलाई समेत व्यवस्थित गर्न नसकेको खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, मन्त्रालयको पहिलो चौमासिक प्रगति हेर्दा हामी सन्तोषजनक अवस्थामा छौँ, मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको छ तर आयोजना–२ ले त्यति तीव्रताका साथ काम गरिरहेको छैन, फोहोर पानी प्रशोधन केन्द्रको निर्माणमा ढिलाइ भइरहेको छ, केयुकेएलको कामप्रति हामीले सन्तोष मान्न सक्ने अवस्था छैन, पुरानो संरचना छ, उपलब्ध पानीलाई पनि व्यवस्थित गर्न सकिरहेको छैन, राम्रोसँग काम भएको छैन हामी सन्तुष्ट छैनौँ ।
केयुकेएल र निर्देशनालयबाहेका मन्त्रालयले सन्तोषजनक काम गरेको शाक्यको दाबी छ । धोबीघाटमा निर्माण गर्न भनिएको फोहोर पानी प्रशोधन केन्द्र सुरु हुन सकेको छैन । मेलम्ची आयोजना–२ को काम ढिलाइ हुनुमा मुआब्जा र ठेकेदार कम्पनीको बदमासी भएको उहाँको भनाइ छ । प्रवक्ता शाक्य भन्नुहुन्छ, ढिलाइ हुनुमा ठेकेदार कम्पनीको बदमासी छ, मुआब्जको पनि विवाद छ, प्रक्रियामा जाँदा ढिलाइ हुनु एउटा कुरा हो तर लगातारको ढिलाइ राम्रो होइन, हामी यसका बारेमा योजना बनाएरै काम गर्दैछौँ ।
प्रथम चौमासिक प्रगति प्रतिवेदन अनुसार मन्त्रालयको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५७.९७ प्रतिशत रहेको छ । मन्त्रालयले खुल्ला दिशामुक्त राष्ट्र घोषणालाई शतप्रतिशत सफल मानेको छ तर प्रत्येक घरमा निर्माण भएका शौचालय प्रयोग भएको छ छैन, त्यसको गुणस्तर र प्रभावका बारेमा अध्ययन भई नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल आधारभूत खानेपानीको सुविधा पुगेको जनसङ्ख्या ८९.२ प्रतिशत छ । सो सङ्ख्या आर्थिक वर्ष २०७६÷७७ भित्र चार प्रतिशत वृद्धि गरी ९२ प्रतिशत पु¥याउने लक्ष्य छ । आगामी तीन वर्षमा शतप्रतिशत पु¥याउने योजना रहेको प्रवक्ता शाक्यको भनाइ छ ।
सहलगानीका ठूला तथा मध्यमस्तरका चार आयोजना सम्पन्न भई ३६ हजार एक सय ६२ जना लाभान्वित भएको मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षामा उल्लेख छ । साना सहरी आयोजना, आधारभूत स्तरका ३५ वटा आयोजना सम्पन्न भई १५ हजार सात सय जनसङ्ख्या लाभान्वित भएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको भौतिक प्रगति ७६.५५ र वित्तीय प्रगति २१.२१ प्रतिशत रहेको छ । मेलम्ची खानेपानी विकास समितिको भौतिक प्रगति ५२.७४ र वित्तीय प्रगति १३.०० प्रतिशत रहेको छ । आयोजना कार्यान्वयन निर्देशनालयको भौतिक प्रगति ७३ प्रतिशत र वित्तीय प्रगति ६३.९३ प्रतिशत रहेको छ । खानेपानी संस्थानको भौतिक प्रगति शतप्रतिशत उल्लेख छ भने वित्तीय प्रगति शून्य प्रतिशत छ ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको प्रगति पनि सन्तोषजनक देखिएको छैन । जसको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति २०.५९ प्रतिशत रहेको छ । काडमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भने अन्य निकायको भन्दा बढी देखिएको छ । जसको भौतिक प्रगति ९७ प्रतिशत र वित्तीय प्रगति ८४ प्रतिशत रहेको छ ।
वार्षिक बजेटको तुलनामा हालसम्मको खर्च ६.११ प्रतिशत छ । खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसङ्ख्या लाभान्वित भएकोमा यस वर्ष २५ प्रतिशत पुग्ने छ । समीक्षा अवधि सन्तोषजनक रहे पनि आयोजनाको गति बढाउनुपर्ने छ, शाक्यले भन्नुभयो । चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम अगाडि बढेको छ । हाल मेलम्ची आयोजनाको हेडवक्र्स निर्माण र सुरुङको फिनिसिङ कार्य भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?