logo
२०८१ मंसिर ९ आईतवार



सहकारीले पुजी निर्माण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ - मन्त्री अर्याल

राष्ट्रिय |


सहकारीले पुजी निर्माण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ - मन्त्री अर्याल


गोरखमपत्र समाचारदाता

काठमाडौँ, पुष २ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सहकारी बैंकद्वारा बुधबार काठमाडौँमा आयोजित ‘को-अपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ मा बोल्दै सहकारीहरुलाई एकीकृत र व्यवसायिकरुपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर सहकारीहरुले काम गर्नुपर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो–“पुजीको निर्माणविना समाजबाद आउँदैन, त्यसैले सहकारीले पुजी निर्माण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, सहकारीकर्मीले समाजवादको अभियन्ता भन्न पाउनुहुन्छ ।”

सरकारले सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी कानूनको तर्जुमा गरिरहेको उल्लेख गर्दै उहाँले दिगो विकासको लक्ष्य हासिल गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

अब समृद्धि र विकासको दिशामा अगाडि बढ्नुपर्ने भएकाले सहकारीहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहकारी बैंकलाई पनि उत्पादनका क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई जनस्तरमा पुर्योउने माध्यम सहकारी भएको भन्दै उहाँले सहकारीको सुशासन र संगठनात्मक अवस्था मजबुत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ ।”

कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने पनि उहाँले बताउनुभयो । सरकारले किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेको स्पष्ट पार्दै उहाँले अधिकतम उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?