logo
२०८१ मंसिर १२ बुधवार



सुन निक्षेप : कार्यविधि नै बनेन

राष्ट्रिय |


सुन निक्षेप : कार्यविधि नै बनेन


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३ गते । सरकारले आर्थिक २०७६/७७ को बजेटमा नेपाली नागरिकसँग रहेको सुन बैङ्कमा निक्षेपको रूपमा जम्मा गर्नसक्ने व्यवस्था उल्लेख गरेको भए पनि चालू आवको पाँच महिना बितिसक्दा पनि यस विषयमा कुनै कार्यविधि बनेको छैन ।
केन्द्रीय बैङ्कले कार्यविधि बनाएर स्पष्ट निर्देशन नदिएका कारण वाणिज्य बैङ्कले सुनलाई निक्षेपका रूपमा लिन सकेका छैनन् ।
नेपालमा ढिक्का सुनभन्दा गरगहना नै बनाएर राख्ने चलन रहेकाले पनि यो अवधारणा कसरी लागू गर्ने भन्ने अन्योल बैङ्कलाई परेको छ । सुन निक्षेप गर्ने विषय बजेटमा आए पनि राष्ट्र बैङ्कले स्पष्ट कार्यविधि बनाएर नदिएका कारण त्यो कार्यान्वयनमा आइनसकेको नेपाल बैङ्कका कायममुकायम सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारीले बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कले भने यस विषयमा छलफल भइरहेको जनाएको छ । यो कार्यविधि बनेपछि भने कोही पनि नेपालीले सुनको ढिका वा बिस्कुट नगद जस्तै बैङ्कमा जम्मा गर्नसक्ने छन् तर त्यसको लागि अझै एक महिना पर्खनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नयाँ अवधारणा भएको त्यससम्बन्धी कार्यविधि तयार भइरहेको बताउनुभयो । उहाँले सुनको बेसरेट र मौद्रिक मूल्य कसरी कायम गर्ने भन्नेलगायतका विषय समेटेर यो कार्यविधि तयार भइरहेको र पुस मसान्तपछि कार्यान्वयनमा आउने छ ।
नेपालमा दुबई, स्विजरल्यान्डबाट ढिक्का सुन बढी आउने गरेको छ । थोरै मात्रामा रसियाबाट पनि आयात हुने गर्दछ तर सबै सुनको गुणस्तर भने एकै नासको नपाइने बैङ्कहरूले बताएका छन् ।
‘सुखको गहना र दुःखको खजना’का रूपमा मानिने सुन निक्षेपको अवधारणा भर्खर मात्र सुरु भएको भए पनि सुन कर्जाको प्रचलन भने निकै पुरानो रहेको छ । प्रायः सबैजसो बैङ्कले सुनका गरगहना धितो राखेर कर्जा भने उपलब्ध भने गराउँदै आएका छन् । बैङ्कले सुनको गहनाको कुल मूल्यको ७० देखि ८० प्रतिशतसम्मको रकम कर्जाका रूपमा उपलब्ध गराउँदै आएको नेपाल वाणिज्य बैङ्कका सूचना अधिकारी टेकराज जोशीले जानकारी दिनुभयो । सुन धितोमा कर्जा बैङ्कले मात्र नभई सुनका कारोबार गर्ने व्यवसायीले पनि उत्तिकै गर्दै आएका छन् । व्यवसायीहरूले चिनजानका आधारमा आफ्ना ग्राहकलाई यस्तो सुविधा दिँदै आएको बताउँछन् । सुन धितोमा कर्जा दिने अधिकार व्यवसायीलाई नभए पनि केहीले यो काम गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउनु हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?