logo
२०८१ जेष्ठ ५ शनिवार



वैज्ञानिक अन्वेषण र अनुसन्धानले नेपाललाई चिनाउन आवश्यक

राष्ट्रिय |
बिज्ञान |


वैज्ञानिक अन्वेषण र अनुसन्धानले नेपाललाई चिनाउन आवश्यक


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई वैज्ञानिक अन्वेषण र अनुसन्धानको माध्यमले चिनाउन आवश्यक कदम चालिने बताउनुभएको छ । उहाँले अन्वेषणका लागि गरिने प्रयास सरकारको प्राथमिकतामा रहेको प्रष्ट्याउनुभयो ।
कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले आयोजना गरेको सूर्यग्रहण अवलोकन गर्ने क्रममा मन्त्री पोखरेलले अन्वेषण र खोजका लागि यस्ता गतिविधि प्रशंसनीय रहेको बताउनुभयो ।
पोखरेलले सूर्यग्रहणबाट कुनै प्रकारको असर नहुने चेतनाका लागि पनि आफू अवलोकनका लागि प्लानेटोरियम पुगेको बताउनुभयो । ‘सेलेष्ट्रियन टेलिस्कोप’बाट सूर्यग्रहणको अवलोकनसँग मन्त्री पोखरेलले प्लानेटोरियमको निरीक्षण गर्नुभयो ।
विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले सूर्यग्रहण अवलोकनका लागि टेलिस्कोपसँगै अन्य माध्यमको निःशुल्क व्यवस्था गरिएको बताउनुभयो । उहाँले यस प्रकारको गतिविधिले वैज्ञानिक चेतनासँगै संस्कारको प्रार्दूभाव गर्ने दाबी गर्नुभयो ।
उहाँकै दाबी बमोजिम प्लानेटोरियम परिसरमा जमा भएका ससाना बालबालिकालाई अभिभावकले सूर्यग्रहण लाग्ने कारणबारे बताउन ब्यस्त देखिन्थे । कार्यकारी निर्देशक शर्मा आफैं पनि बालबालिकाको कौतुहलता मेटाउन ब्यस्त हुनुभयो ।
समितिले सर्वसधारणको अवलोकनका लागि सौर्य फिल्टर, लाइभ ट्रान्समिसनसँगै टेलिस्कोपको व्यवस्था गरेको थियो । करीब एक हजार जनाले प्लानेटोरियमबाट सूर्यग्रहणको अवलोकन गर्नुभयो ।
बिहीबार बिहान ८ बजेर ४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको थियो । करीब तीन घण्टासम्म सूर्यको आशिंक भाग छेकेको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको कार्यकारी निर्देशक शर्माले बताउनुभयो । बिहान सूर्यग्रहण लागे लगत्तै प्लानेटोरियम परिसरमा सर्वसधारण जमा भएका थिए । सूर्यग्रहण अवलोकनलाई ब्यवस्थित बनाउन समितिका करीब एक दर्जन स्वयंसेवक एवम् कर्मचारी परिचालन गरिएको थियो ।
अवलोकनका लागि परिसरमा राखिएको टेलिस्कोपले चारसय गुणा बढी पारेर तस्विर देखाएको थियो ।
परिसरमै टेलिस्कोप र सौर्य फिल्टरबाट सूर्यग्रहणको अवलोकन गर्नुभएका ८० वर्षीय विश्वनाथ शर्माले टेलिस्कोपभन्दा फिल्टरबाट ग्रहणको राम्ररी अवलोकन गर्न पाएको बताउनुभयो ।
सानेपाबाट सूर्यग्रहण अवलोकन गर्न कीर्तिपुर पुग्नुभएका ६० वर्षीया पार्वती ढुङ्गानाले टेलिस्कोपबाट अवलोकनसँगै प्रत्यक्ष प्रसारणले आकर्षित गरेको बताउनुभयो ।
समितिले व्यवस्था गरेको प्रत्यक्ष प्रसारणले विश्वको अन्य भागमा सूर्यग्रहणको अवस्था देखाएको थियो । नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिएपनि यूएई लगायतको अन्य राष्ट्रमा भने सूर्यको अधिकांश भाग ढाकिने गरी नै ग्रहण देखापरेको डा. शर्माले खुलाउनुभयो ।
बालबालिकादेखि ८० वर्षीय वृद्ध सूर्यग्रहणको अवलोकनका लागि कीर्तिपुरस्थित संग्रहालय पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?