logo
२०८१ मंसिर १३ बिहीवार

  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 



तीन महिना म्याद थप्न माग, बुद्ध पूर्णिमामा सञ्चालन गर्न सकिने

राष्ट्रिय |


तीन महिना म्याद थप्न माग, बुद्ध पूर्णिमामा सञ्चालन गर्न सकिने


लक्ष्मण पौडेल
भैरहवा, पुस ११ गते । भैरहवामा निर्माण जारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का अवधि तीन महिनाका लागि थप्न विमानस्थल आयोजनाले नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरेको छ । डिसेम्बर ३१ सम्म निर्माणको अवधि रहेकोमा सबै काम सक्न अझै तीन महिना लाग्ने भन्दै आयोजनाले समयावधि थप्न माग गर्दै प्राधिकरणलाई बिहीबार पत्र पठाएको हो ।
म्याद थपबारे एशियाली विकास बैंक र प्राधिकरणबीच छलफल भइरहेको विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । थप गरिने समयावधिका कारण आगामी बुद्ध पूर्णिमामा उडान सुरु गर्ने लक्ष्यमा भने कुनै असर नपर्ने अधिकारीले जानकारी दिनुभयो ।
“आगामी मार्चभित्र विमानस्थल सञ्चालन योग्य हुन्छ, सरकार र प्राधिकरणरले चाहेमा आगामी बुद्ध पूर्णिमादेखि उडान अवतरण सञ्चालन गर्न सकिन्छ र बुद्ध पूर्णिमामा आउने पाहुनाहरु सोझै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्छन्”–उहाँले भन्नुभयो । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनु पर्ने अन्तिम मिति डिसेम्बर ३१ अर्थात पुस १५ गतेसम्म रहेको छ । “अहिलेसम्म ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ, बाँकी १४ प्रतिशत काम तीन महिना समय थप भयो भने सम्पन्न हुन्छ”–अधिकारीले भन्नुभयो ।
चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएशन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भए पछि १० दिन अघि नै म्याद थप गर्न माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो । निर्माण कम्पनीको पत्र आईसकेपछि हालसम्म सम्पन्न भएका कामहरु तथा अब बाँकी कामहरूको आधारमा तीन महिना भित्र अर्थात आगामी मार्चभित्र निर्माणका सबै काम सकिने आधार देखिएकोले तीन महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।
यो म्याद थप अब अन्तिम पटकका लागि हुने समेत अधिकारीले जानकारी दिनुभयो । “समयमै निर्माण नसकिएपछि म्याद थप्नुको विकल्प रहेन, अहिले अन्य समस्याहरू जस्तो निर्माण सामग्री, आर्थिक समस्या निर्माण कम्पनीलाई छैन र पहिले भन्दा धेरै छिटो काम भएको उहाँको भनाइ छ । अधिकारीका अनुसार अहिले भौतिक पूर्वाधारतर्फ ८६ प्रतिशत काम सकिएको छ ।
यसअघि पनि तोकिएको समयमा काम नसकिएपछि तीन पटक समय थप भईसकेको छ । पहिलो पटक २०१८ को जनवरी १८ देखि जुन १५ सम्म, दोस्रो पटक २०१८ जुन १५ देखि २०१९ जुन २८ सम्म, तेस्रो पटक जुन २०१९ को २८ देखि डिसेम्बर ३१ सम्मका लागि म्याद थप भएको थियो ।
अहिले विमानस्थलमा टर्मिनल बिल्डिङ फिनिसिङको काम भइरहेको छ भने उपकरण जडान र कार पार्किङको फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ । “७० प्रतिशत उपकरण विमानस्थलमा आइसकेका छन्, बाँकी ३० प्रतिशत आउने क्रममा छन्, आगामी तीन महिनामा उपकरण जडानको काम पनि सकिएर विमानस्थल सञ्चालन योग्य बन्छ”–अधिकारीले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?