logo
२०८१ मंसिर १३ बिहीवार



देशभर चिसो बढ्यो, जनजीवन कष्टकर बन्दै

राष्ट्रिय |


देशभर चिसो बढ्यो, जनजीवन कष्टकर बन्दै



चाँदनी हमाल
काठमाडौँ, पुस १३ गते । यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ ।
आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो ।
हरेक वर्षको डिसेम्बरको मध्यबाट चिसो बढ्ने भए पनि यसपाली अलिक छिट्टै चिसो बढेको महाशाखाको भनाइ छ । “चिसोसँगै हिमाली भेगमा हिउँ पर्ने, पहाड र तराईमा हुस्सु र शीतलहर चल्ने क्रम जारी छ,” मौसमविद् बरुण पौडेलले भन्नुभयो, “यसले जनजीवन कष्टकर बनेको छ ।”
उहाँले भन्नु भएझैँ हिमाली भेगमा यतिबेला तापक्रम माइनसमा झरिसकेको छ । जोमसोम, मनाङ, मुस्ताङ, जुम्ला भेगमा माइनसमा पनि तल तापक्रम झर्नेक्रम जारी छ । मनाङमा माइनस १९ डिग्री तापक्रम रेकर्ड भइसकेको छ । जुम्लामा आइतबार विहान केही बढेर माइनस ५.५ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ ।
काठमाडौँपछि अर्को चिसो सहर सुर्खेत जिल्लाको वीरेन्द्रनगर बनेको छ । चर्को शीतलहरसँगै यहाँको तापक्रम आइतबार २.४ डिग्री न्यूनतम सूचीकृत भएको छ । त्यसपछि ताप्लेजुङ र दिपायल अर्को चिसो स्थानका रूपमा रहेका छ । जहाँ २.६ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ ।
त्यसपश्चात् डडेलधुरामा २.७ डिग्री, दाङ ३.५, पोखरा ३.७, ओखलढुंगा ५, धनकुटा ५.८, धनगढी र सिमरामा ७ डिग्री तापक्रम सूचीकृत भएको छ । त्यस्तैगरी, भैरहवा ७.५, विराटनगर ७.६ र नेपालगञ्जमा ८ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ ।
चिसो अझैं बढ्ने
काठमाडौँलगायत देशभर अझैं केही हप्ता चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार पनि चिसो बढेसँगै बाक्लो हुस्सु र कुहिरोको चाप पनि बढ्दो छ । पश्चिम तराईमा लागेको कुहिरो र हुस्सु आइतबार अपराह्नपछि केही हटेको छ । जसका कारण यस क्षेत्रका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुरको जनजीवन प्रभावित बनेको छ ।
मध्य तराई क्षेत्रमा भने साँझसम्म नै बाक्लो हुस्सु र कुहिरो रहने अवस्था छ । जसका कारण चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी क्षेत्रमा घाम कम लाग्ने र शीतलहरले जनजीवन असर परेको छ । त्यस्तै, पूर्वी तराईको कुहिरो र हुस्सु कायम रहँदा घामको ताप कम मात्र धर्तीको सतहमा पुगेको छ । त्यस क्षेत्रका महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा क्षेत्रमा चिसोको प्रभाव बढेको छ ।
बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुँदा पानी पर्ने सम्भावना छ । जसका कारण केही दिनमा थप चिसो बढ्ने विभागले पूर्वानुमान गरेको छ । बर्षातका कारण हिमाली भेगमा हिमपातसँगै अन्य क्षेत्रमा हुस्सु र कुहिरोको प्रकोप गाढा हुनेछ, जसले अहिले कायम रहेको चिसो थप वृद्धि हुने अनुमान मौसमविद्ले गरेका छन् ।
चिसो बढेकाले जरुरी कामबाहेक बाहिर कम ननिस्कन मौसमविद्ले सर्वसाधारणसँग आग्रह गर्नुभएको छ । बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई न्यानो बनाएर राख्न भनिएको छ । साथै, कामकाजमा हिड्नेले पनि न्यानो हुने उपाय अपनाएर हिँडडुल गर्न सुझाएका छन् । हुस्सु लाग्दा कम देखिने भएकाले सवारी चलाउँदा ध्यान दिन पनि भनिएको छ ।
हिमाल खुसी, तराई दुःखी
समयअघि नै हिमपात हुँदा हिमाली भेगका किसान खुशी भएका छन् । वर्षा नहुँदा सुख्खा भएका पाखा बारीमा हिउँ पर्दा चिस्यान कायम रहन्छ, जसले हिउँदे र वर्षेबालीका लागि समेत सघाउने भएकाले उनीहरु खुशी भएको कृषि मौसमविद् रामेश्वर रिमाल बताउनुहुन्छ ।
पहाडी र तराई भेगमा भने भने लामो शीतलहरले वस्तुभाउ जोगाउन कठिन हुने उहाँ बताउनुहुन्छ । “मानिसमात्र हैन वस्तुलाई समेत बोरा वा कपडाले छापेर, आगो बालेर न्यानो बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “मानिसलाई झैँ घरपालुवा वस्तुभाउलाई पनि चिसोमा रुघा लाग्ने, श्वासप्रश्वासको समस्या हुन्छ ।” त्यसैले पनि त्यस्तो लक्षण देखिए तत्काल उपचार गराउन उहाँ सुझाउनुहुन्छ ।
यतिबेला आलु र गोलभेडा खेतीको समय भएकाले दिनभर घाम लाग्ने राति शीत पर्ने क्रम दोहोरिँदा डढुवा लाग्ने सम्भावना तीव्र छ । जोगाउने उपाय गर्न नसकेर डढुवा लागेमा बिषादी छर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?