logo
२०८१ मंसिर ९ आईतवार



हिमपातले हिमालपारी गाउँ लिमी सम्पर्क बिहीन

राष्ट्रिय |


हिमपातले हिमालपारी गाउँ लिमी सम्पर्क बिहीन


राजन रावत
सिमकोट पुस १८ गते । दुई दिन लगातार हिमपात पछि नाम्खा गाउँपाकिलाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमी सम्पर्क बिहीन भएको छ । नेपाल टेलिकमको सञ्चार सेवा पुग्न नसकेको लिमीमा हिमपात भै रहेकोले सोलारले काम नगर्दा गाउँमा भएको वल्र्ड लिंक कम्युनिकेसनको इन्टरनेट सेवाले काम नगर्दा लिमी सम्पर्क बिहीन भएको हो ।

लिमीका तीन वटै गाउँमा बिहीबारबाट सम्पर्क हुन नसकेको लिमी हल्जी गाउँको हिम शिखर प्राबिका शिक्षक कर्णजित बुढाले बताउनु भयो । लिमीका तिनै गाउँमा भएको नेपाल टेलिकमको भिस्याट सेवा बिगत चार महिनादेखि बिग्रीए पछि बन्द रहेको र केही समय अगाडी सञ्चालनमा आएको वल्र्ड लिंकको इन्टरनेट सेवाबाट सम्पर्क भै रहेको भएपनि हिमपात पछि त्यो पनि छुटेको उहाँले बताउनु भयो । अहिले लिमीका तीनै गाउँ सम्पर्क बिहीन अबस्थामा रहेका छन् । यसरी हिउँमा लिमी सम्पर्क बिहीन अबस्था भने पहिलो पटक होइन । लगतार हिमपात भै रहेकोले लिमीमा चार फिटसम्म हिउँ जमेको हुन सक्ने शिक्षक बुढाले बताउनु भयो । लिमीका तीन गाउँ, तील, हल्जी र जाङ्ग गाउँमा १४७ घरधुरी रहेका एक हजार भन्दा बढी जनसंख्या रहेको छ ।
हिमपातले जनजीवन कष्टकर
दुई दिनदेखि लगातार हिमपात भै रहँदा हुम्लाबासीको जनजीबन निक्कै प्रभाबित भएको छ । शुक्राबार दिउसो पनि तापक्रम माईनस आठ डिग्रीमा झरेको कारण चिसो अत्याधिक बढेको छ । बाक्लो हिउ परि रहेकोले जमिनमा डेढ फिट भन्दा बढी हिउ जमेको छ भने अझै पर्नेक्रम जारी रहेको छ । हिमपात भै रहेकोले मानिसहरु घर बाहिर आउजाउ गर्न सक्ने अबस्था छैन । अत्याबश्यक काम परेका मानिसहरु पनि बाक्ला कपडा लगाएर फाट्टफुट्ट रुपमा निस्किएको देखिन्छ । सरकारी कार्यालयहरुमा पनि कर्मचारीहरु आगो तापेर कार्यालय कुर्ने काम गरि रहनु भएको छ । सेवाग्राहीहरु ज्यादै न्यून संख्यामा आएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले बताउनु भयो । अधिकाँस दिनमा सेवाग्राीहरुको भिड लाग्ने दिनमा पनि दुई जना सेवाग्राही मात्र आएको उहाँले बताउनु भयो । त्यसै गरि जिल्ला प्रशासन, मालापोत, स्वास्थ्य, कृषि, पशु, घन, घरेलु जस्ता कार्यालयहरुमा पनि सेवाग्राहीको उपस्थिती नभएको पाइएको छ । त्यसै गरि स्थानीय बासिन्दाहरुले दुई दिन देखि पशुबस्तुहरु घरमै थनेर राख्नु परि रहेको छ । पशुबस्तुलाई घरमा हिउदका लागि मौज्दात गरेर राखिएको घाँस दिने र हिउ बिलाएर पानी दिने गरिएको सिमकोट गाउँपाकिला वडा नम्बर ५ का स्थानीय टेक बहादुर रोकायाले बताउनु भयो । चिसोको कारण धारामा पानी जमेको कारण खानेपानीको पनि समस्या भएको छ । मानिसहरु ग्यालेर बोकेर चिप्लीएर खानेपानीको ब्यास्था गर्न बाध्य भएका छन् । यता हुम्लावासीलाई दाउराको ब्यबस्था गर्न पनि कठिन भएको छ ।
हिमपातमा गाडी नचलाउन प्रशासनको चेतावनी
हिमपात भै रहेकोले आन्तरिक रुपमा सञ्चालन हुँदै आएका गाडीहरु नचलाउन जिल्ला प्रशासन कार्यालयले सबैमा उर्दी जारी गरेको छ । कच्ची सडकहरु चिप्लो हुने भएको कारण हुन सक्ने संभाबित सडक दुर्घटनाबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यलयले यस्तो उर्दी जारी गरेको हो । हिमपात भै रहेकोले सडक चिप्लो हुनुका साथै हिउ पनि प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले सबै नीजि गाडी धनीहरुलाई अनुरोध गर्नु भयो । यस्तो अबस्थामा कोही कसैले अटेरी गरि गाडी चलाएको खण्डमा कारवाही गरिने पनि उहाँले बताउनु भयो । त्यसै गरि प्रशासनले यात्रुहरुलाई पनि गाडी सञ्चालनका लागि दबाद नदिन आग्रह गरेको छ । हिमपात भै रहेकै बेला केही दिन अगाडी नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को तुम्कोट भिरमा हिल्साबाट इन्धन तथा अन्य सामान बोकेर आएको टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने दुई जना घाईते भएका थिए । हुम्लामा सिमकोट, खार्पु, सिमकोट हेक्पा खोला, हिल्सा देखि तुम्कोट, याल्वाङ र सिमकोट बजारमा गाडी सञ्चालन हुँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?