logo
२०८१ मंसिर १३ बिहीवार



खेतमा सुक्दै किसानको उखु

राष्ट्रिय |


खेतमा सुक्दै किसानको उखु


जनार्जन खत्री

धनकौल (सर्लाही), पुस १९ गते । मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लाका तीन चिनी उद्योगमध्ये दुईवटा चिनी उद्योग उखु क्रसिङको मध्य सिजनमा पनि सञ्चालन हुन सकेका छैनन् ।
जिल्लाको उत्तरी भेगस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनले एक साताअघिबाट उखु क्रसिङ गरिरहेको छ तर दक्षिणी भेगमा पर्ने अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह बन्द अवस्थामा छन् । महालक्ष्मी चिनी उद्योग बिहीबारबाट सञ्चालन गर्ने तयारी गरे पनि किसानले अवरोध गरेका छन् । गत वर्षकै पैसा बाँकी राखेर उखु क्रसिङ सुरु गर्न लागिएको भन्दै सयौँको सङ्ख्यामा उद्योगमा पुगेका किसानले गत वर्षको पैसा नपाएसम्म उद्योग सञ्चालन हुन नदिने भन्दै अवरोध गरेका हुन् ।
महालक्ष्मी चिनी उद्योगले किसानलाई २१ करोड ४० लाख ५८ हजार २२६ रुपियाँ भुक्तानी गर्न बाँकी छ । यस्तै अन्नपूर्ण चिनी उद्योगले किसानलाई विगत तीन÷चार वर्षअघि देखिको पैसा दिएका छैनन् । अन्नपूर्णको ३० करोड रुपियाँ बक्यौता छ । यी दुई चिनी उद्योगमा उखु बेचेका अधिकांश उखु किसान अहिले ऋणमा डुबेका छन् । कतिपय किसानले साहुको ऋण तिर्न उखु लगाउने खेतबारी नै बिक्री गर्न थालेका छन् ।
धनकौल गाउँपालिकास्थित महिनाथपुरका किसान रामप्रताप महतो कोइरीले चिनी उद्योगका कारण बिल्लीबाठको अवस्थामा पुगेको गुनासो गर्नुभयो । अघिल्ला दुई वर्ष अन्नपूर्ण चिनी उद्योगलाई उखु बिक्री गरेको पैसा माग्न आउँदा उद्योग परिसरमै भेटिनुभएका महतोले दुःख पोख्दै भन्नुभयो, उखुको पैसा नपाएपछि साहुबाट ऋण काढेर घर व्यवहार चलाएँ, त्यही ऋण तिर्न भएको खेत बेच्नुप¥यो । अहिले मजदुरी गरेर परिवार पालिरहेको छु ।
महतोजस्तै जिल्लाका अन्य उखु किसान अहिले दोहोरो पीडामा छन् । अघिल्ला वर्षमा बिक्री गरेको उखुको पैसा किसानको हातमा परेको छैन भने काट्न ढिलो भएर खेतको उखु सुकेर गइरहेको छ तर खेतमै उखु सुके पनि उद्योगीलाई भने उधारोमा बिक्री नगर्ने अडान किसानले लिएका छन् बरु खेतमै सुकेर जाओस् तर पोहोर सालको पैसा नपाएसम्म कुनै पनि हालतमा उद्योगमा उखु ल्याउँदैनौँ, विष्णु गाउँपालिका–६ का किसान रामप्रवेश पण्डितले भन्नुभयो, उद्योगीको झुटो आश्वासनले हामी किसान मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौँ ।
मङ्सिरबाटै काट्न सुरु गर्नुपर्ने उखु पुस आधा भइसक्दासमेत खेतमै छ । चलानपत्र (उद्योगमा उखु ल्याउने अनुमतिपत्र) पाएपछि दक्षिणी भेगका केही किसानले इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर मिल रामनगरमा उखु ल्याउन थालेका छन् । चलान नपाएका किसानको उखु खेतमै दिनानुदिन सुकिरहेको छ । केही किसानले भने सस्तो मूल्यमा सखर (मिठ्ठा) बनाउने उद्योगमा उखु बेचिरहेका छन् ।
उखु किसानसमेत रहनुभएका गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले चिनी उद्योगले पुरानो भुक्तानी नदिएसम्म नगरपालिका भित्रको महालक्ष्मी चिनी उद्योग सञ्चालन गर्न नदिइने बताउनुभयो । हाम्रै पहलमा बिहीबार उखु किसान र उद्योगीबीच छलफल आयोजना गरिएको थियो तर लामो समय उखु बेचेको पैसा नपाएर किसानले आक्रोश व्यक्त गर्दा उपलब्धिमूलक किसिमले छलफल गर्न पाएनौँ, नगरप्रमुख यादवले भन्नुभयो, बिहीबारको छलफल बिथोलिए पनि उद्योगबाट किसानलाई भुक्तानी दिलाउने हाम्रा तर्फबाट निरन्तर दबाब दिइरहेका छौँ ।
जिल्लाका सांसद र विभिन्न स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको बृहत् छलफलमा उपस्थित सयौँ किसानमाझ उद्योगी वीरेन्द्र कनौडियाले चिनी बिक्री नभएर किसानको भुक्तानी दिन नसकिएको र केही दिन धैर्य गर्न आग्रह गर्नुभयो तर किसानले भने कयौँपटक विभिन्न बहाना बनाएर पैसा नदिएको भन्दै छलफलमा बोल्दाबोल्दै उद्योगी कनौडियामाथि आक्रमणको प्रयास गरेका थिए । कडा सुरक्षा घेरामा आयोजित छलफलमा तत्कालै सुरक्षाकर्मीले पहरा दिएर उद्योगी कनौडियालाई सुरक्षित स्थानमा पु¥याएको थियो ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले चिनी उद्योगीले पटकपटक आश्वासन दिएर पनि भुक्तानी नगर्दा उखु किसानको आक्रोश बढ्दै गएको बताउनुभयो । यो आक्रोश अब कसैले थेगेर थेग्न सक्दैन, उद्योगीका कारण घरबार बिग्रिएपछि उखु किसानमा धैर्यको सीमा टुटेको छ, मैनालीले भन्नुभयो, उद्योगीले तत्कालै किसानको पुरानो बक्यौता भुक्तानी गरेर उद्योग सञ्चालनको वातावरण बनाउनुपर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?