logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश ३ को स्थायी राजधानी र नामाकरणबारे मङ्गलबार मतदान हुने

सोमबार प्रदेशको नाम प्रस्ताव माग गर्ने

राष्ट्रिय |


प्रदेश ३ को स्थायी राजधानी र नामाकरणबारे मङ्गलबार मतदान हुने
प्रदेश ३ को प्रदेशको स्थायी राजधानी र नामाकरणबारेमा आइतबार प्रदेश सभा भवनमा जानकारी गराउँदै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ । तस्बिरः राममणि दाहाल, हेटौँडा ।


मकवानपुर समाचारदाता
हेटौँडा, पुस २० गते । प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको दुई वर्षदेखि थाँती रहेको विषय सोमबारबाट प्रक्रियामा जाने भएको छ ।
प्रदेश ३ को सोमबारबाट सुरु हुने प्रदेशसभाको पाँचौ अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउन औपचारिक रुपमा प्रक्रिया शुरु हुने भएको हो ।
प्रदेशसभाको सोमबारको बैठकमा प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिमाथि छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिमाथि छलफलसँगै प्रदेशको नामाकरणसम्बन्धी कार्यविधिमाथि छलफल गरी पारित गर्ने र प्रदेशको नाम प्रस्ताव गर्न माग गर्ने कार्यतालिका तय भएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेशको स्थायी राजधानीसँगै नामाकरणसम्बन्धी प्रस्ताव र प्रतिवेदनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने जानकारी दिंदै प्रदेश सभा सचिवालयमा आइतबार पत्रकार भेटघाटमा सभामुख श्रेष्ठले भन्नुभयो, जवाफपछि प्रदेशको स्थायी राजधानी तोक्ने र नामाकरणका लागि मतदान प्रक्रियामा जानेछौं । उहाँले भन्नुभयो, सबै प्रक्रिया पूरा गरेर प्रदेशको स्थायी राजधानी र नाम मङ्गलबार टुङ्गो लगाउने गरी तय गरिएको छ ।

यस्तै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले पाँचौ अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्ने, प्रदेश प्रमुखबाट प्राप्त प्रदेश आव्हानसम्बन्धी पत्र र प्रदेशभित्र औद्योगिक व्यवसाय तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण गरेको पत्र पढेर सुनाउने कार्यतालिका प्रदेश सभाका सभामुखले जानकारी गराउनु कार्यतालिका तय भएको छ ।

यसअघि प्रदेशको स्थायी राजधानीसम्बन्धमा अध्ययन गर्न बनेको राजधानी अध्ययन विशेष समितिले बर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लासहितको सम्भावित सूची सिफारिश गरेको थियो । बर्णानुक्रमअनुसार सिफारिश भएका जिल्लाको कुन स्थानमा राजधानी राख्ने हो प्रदेश सभाको वैठकमा प्रस्ताव माग गर्ने प्रदेशसभाका प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो ।

बर्णानुक्रमअनुसार सबैभन्दा पहिले स्थायी राजधानी तोक्न काभ्रे जिल्लाको प्रस्तावित स्थानका लागि मतदान हुने भएको छ । मतदान गर्न पक्षमा हुने र विपक्षमा हुने प्रदेश सभाका सदस्यको छुट्टाछुट्टै लाइन र स्थान प्रदेश सभा भवन भित्र व्यवस्था गरिने भएको छ । सभामुखले मतदान प्रक्रिया सुरु हुने सभामुखले जानकारी दिएपछि पाँच मिनेटसम्ममा प्रदेश सभा भवनमा प्रवेश गर्न दिने समय निर्धारण गरिने र सो समयभित्र नआउने प्रदेश सभाका सदस्यलाई मतदानस्थलमा प्रवेश नगराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?