logo
२०८१ मंसिर १३ बिहीवार



दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै

राष्ट्रिय |


दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै



प्रकृति अधिकारी

काठमाडौँ, पुस २४ गते । दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो ।
उहाँलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो । हत्याकाण्डका दिन सोही भवनको भ¥याङमा तत्कालीन रानी ऐश्वर्यको हत्या भएको थियो । २०६१ सालमा त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको निजी निवासका साथै बिलियार्ड हललाई जगसहित भत्काइएको थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी एक वर्षभित्र दीपेन्द्रको निजी निवासको पुनःनिर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाइएको बताउनुभयो । “अवलोकनकर्ताहरूले दीपेन्द्रको निजी निवासका बारेमा निकै जिज्ञासा राख्ने गरेका छन्,” उहाँले भन्नुभयो, “शाहीकालमा त्यो भत्काउन लगाइयो । अहिले दुरुस्त भवन निर्माण भइरहेको छ । भवन तयार भएपछि हत्याकाण्डका बारेमा जिज्ञासा राख्नेहरूले त्यो बेला कस्तो भौतिक संरचना थियो भन्ने अनुमान गर्न सक्नेछन् ।”
यसअघि सङ्ग्रहालयले बिलियार्ड हलको पुनःनिर्माण सम्पन्न गरेको छ । त्यो बेलाका फर्निचर, तस्बिर, गलैँचा आदि नयाँ बनेको हलमा राखिएको छ । दीपेन्द्रको निजी निवास भत्काइएपछि त्यहाँ रहेका झ्यालढोका आदि सामग्री दरबार परिसरभित्र नयाँ टहरो बनाई राखिएको छ । दुईतले सो भवनमा त्यसबेला रहेका सजावटका सामग्री, ओछ्यान, फर्निचर आदिको अत्तोपत्तो छैन ।
दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले दीपेन्द्रको निजी निवासमा त्यसबेला भएका सामग्रीको खोजी गरिने र फेला परेसम्म ल्याएर राखिने बताउनुभयो । दरबार सङ्ग्रहालयका कर्मचारीहरू अवलोनकर्ताहरूले दरबार हत्याकाण्डमा प्रयोग भएका हतियार हेर्न निकै इच्छा व्यक्त गर्ने गरेको सुनाउँछन् । ती हतियार सबै नेपाली सेनामा बुझाइसकिएको छ ।
तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्रीसदनसम्म जाने बाटो तयार गरिँदै छ । तत्कालीन राजा महेन्द्रको निजी निवास महेन्द्र मन्जिल हुँदै श्रीसदनसम्म अवलोकनकर्ताहरूलाई पुग्ने बाटो सरसफाइ गरी तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । तत्कालीन मुमाबडामहारानी रत्न शाह महेन्द्र मन्जिलमै बस्दै आउनुभएको छ ।
यसैगरी तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या भएको घर र सँगैको बम्बैचोकको पुनःनिर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सो पुनःनिर्माण गरिदिने भएको हो । त्यसका लागि ३० करोड रुपियाँ विनियोजन गरिएको छ । जङ्गबहादुरका भाइ रणोद्दीपलाई धीरशमशेरका चार जना छोराले सोही भवनमा हत्या गरेका थिए र २०७२ सालको भूकम्पअघिसम्म सो भवन सुरक्षित थियो ।
सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले तत्कालीन राजपरिवारले प्रयोग गर्ने गरेको विमान र हेलिकप्टर, सवारी साधन आदि पनि प्रदर्शनीमा राखिने तयारी गरिएको जानकारी दिनुभयो ।
“नेपाल पर्यटन वर्षमा उत्कृष्ट गन्तव्य स्थलका रूपमा नारायणहिटी दरबार सङ्ग्रहालयलाई विकास गर्ने योजना तयार गरिरहेका छौँ,” उहाँले भन्नुभयो । गत आर्थिक वर्ष २०७५÷७६ मा चार लाख १६ हजार ३२३ जना अवलोकनकर्ता नारायणहिटी दरबार पुगेका थिए । त्यसबापत तीन करोड ७९ लाख रुपियाँ आर्जन भएको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?