logo
२०८१ मंसिर १३ बिहीवार



उखु किसानको आंशिक भुक्तानी

राष्ट्रिय |


उखु किसानको आंशिक भुक्तानी


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । सरकार र उखु किसानबीच भएको पाँचबुँदे सम्झौता अनुसार चिनी मिल सञ्चालकहरूले किसानको बक्यौता रकम दिएको नदिएको अनुगमनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाएको छ ।
मन्त्रालयले बिहीबार पत्र पठाएपछि विभागले शुक्रबारदेखि अनुगमन थाल्ने बताइएको छ । विभागका महानिर्देशक जीवन सिटौलाले पत्र प्राप्त भएको छ, शुक्रबारदेखि त्यसको अनुगमन गर्ने बताउनुभयो । सरकार र उखु किसानबीच भएको सम्झौता अनुसार माघ ७ गतेभित्र सबै बक्यौता रकम भुक्तानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सो अनुसार हालसम्म कति रकम भुक्तानी गरे थाहा पाउन अनुगमन गर्ने उहाँले बताउनुभयो । उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले यसपटक उद्योग मन्त्रालय उखु किसानको भुक्तानीका लागि निकै गम्भीर भएर लागेको बताउनुभयो । उखु किसानले मिल सञ्चालकबाट पाउनुपर्ने बक्यौता रकम र सरकारबाट दिइने अनुदान रकम के कति प्राप्त ग¥यो त्यसको अनुगमन गर्न लागेको उहाँले बताउनुभयो ।
पुस १८ गते शुक्रबार सम्झौता भएपछि चिनी मिल सञ्चालकहरूले आइतबारदेखि उखु किसानको खातामा बक्यौता रकम हाल्न सुरु गरेका छन् । यता सरकारले दिने अनुदान रकम पनि वितरण सुरु भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले किसानले पाउनुपर्ने सरकारी अनुदान रकममध्ये २३ करोड रुपियाँ वितरण गरिएको बताउनुभयो । सरकारले ९० करोड अनुदान रकम जिल्ला जिल्लामा पठाएको थियो । प्रमाण पु¥याउने किसानको बैङ्कमा सो रकम जान थालेको बताइएको छ । केही किसानले अनुदान रकम पाएको बताएका छन् । यद्यपि नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले अनुदान रकम वितरणका लागि सरकारले बनाएको मापदण्डका कारण किसानलाई प्रमाण पु¥याउन गाह्रो भइरहेको बताउनुभयो । कागजात जम्मा नगरेका धेरैजसो किसानले सो अनुदान रकम नपाएको उहाँले बताउनुभयो ।
बक्यौता तथा अनुदान रकम वितरण हुन थालेपछि माघ ७ गतेभित्र सम्पूर्ण रकम पाउने किसानमा आशा जागेको छ । चिनी मिल सञ्चालकहरूले रकम भुक्तानी गर्न थालेपछि आन्दोलनका कारण बन्द रहेका मिल पनि सञ्चालनमा आएको महासङ्घका अध्यक्ष मैनालीले बताउनुयभो । इन्दिरा सुगर मिल, लुम्बिनी सुगर मिल र अन्नपूर्ण सुगर मिल बाहेकले किसानको बक्यौता रकम भुक्तानी दिन थालेका र ती मिल सञ्चालनमा आएका छन् ।
सर्लाहीको गोडैतामा रहेको महालक्ष्मी सुगर मिल सञ्चालकले पुस २२ गते ११ करोड २६ लाख रुपियाँ किसानको खातामा पठाइदिएपछि मिल सञ्चालनमा आएको छ । सो मिलका सञ्चालक वीरेन्द्र कनौडियाले किसानको बक्यौता रकम दिन थालेको र माघ ७ गतेभित्र सबै रकम भुक्तानी गरिदिने उहाँले बताउनुभयो । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम भुक्तानी नभएपछि आन्दोलनकारीले उहाँको मिल पनि बन्द गराएका थिए । सो मिलले किसानको २१ करोड रुपियाँ तिर्न बाँकी थियो ।
सबैभन्दा बढी बक्यौता रकम राखेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले हालसम्म पाँच करोड रुपियाँ जम्मा गर्नुभएको छ । उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायका अनुसार मिल सञ्चालक अग्रवालले गत बिहीबार अर्थात् पुस १७ गतदेखि बैङ्कमा रुपियाँ राख्न थाल्नु भएको छ । हालसम्म विभिन्न किसानको खातामा गएको रकम पाँच करोड पुगेको छ । उहाँमाथि ४० करोडभन्दा बढी रकम बक्यौता रहेको छ । यद्यपि उहाँले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि पनि उहाँको मिल सञ्चालनमा नआएको उहाँले बताउनुभयो । सरकार र किसानबीच भएको सम्झौता अनुसार अन्नपूर्ण मिलले तोकिएको समयमा रकम भुक्तानी गर्नेमा महासङ्घका अध्यक्ष मैनालीले आशङ्का गर्नुभएको छ । उहाँले पहिला पनि आन्दोलन चर्किएपछि र प्रहरीले पक्राउ गरेपछि सबै भुक्तानी दिने भन्नुभएको थियो तर पछि गर्नुभएन यसपटक पनि उहाँले त्यस्तै गर्नुहुन्छ भनी अध्यक्ष मैनालीले आशङ्का गर्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?