logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश राजधानी हेटौँडाका लागि काँग्रेसको व्हिप

राष्ट्रिय |


प्रदेश राजधानी हेटौँडाका लागि काँग्रेसको व्हिप


मकवानपुर समाचारदाता
हेटौँडा, पुस २५ गते । प्रदेश ३ नेपाली काँग्रेस संसदीय दलले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न व्हिप जारी गर्ने भएको छ ।
काँग्रेस संसदीय दलको शुक्रबार साँझ हेटौँडामा बसेको वैठकले प्रदेश राजधानी पक्षमा आफ्ना प्रदेश सभाका सदस्यहरुलाई व्हिप जारी गर्ने निर्णय गरेको हो ।
काँग्रेस संसदीय दलका सचेतक छिरिङ्ग दार्जे लामाले दलको वैठकले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न व्हिप जारी गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रदेशको नामाकरणको सवालमा अहिले खुला छौ भन्दै उहाँले भन्नुभयो, कुनै निर्णय भएको छैन, अन्य दलहरुसँग सहमति जुटेमा नाममा पनि व्हिप जारी गर्न सकिन्छ ।
उहाँले भन्नुभयो, प्रदेश राजधानीको सवालमा सहमति नजिक छौ, प्रदेशको राजधानीको स्थान र नामका लागि अधिकतम् सहमतिको पक्षमा काँग्रेस रहेको छ ।
काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शनिबारबाट सुरु हुने प्रदेश स्थायी राजधानी र नामाकरण सम्बन्धमा शनिबार प्रस्ताव दर्ता प्रक्रिया सुरु हुने भएकोले अनुमती विना हेटौँडा नछाड्न भन्नुभएको छ ।
काँग्रेस संसदीय दलले मतदान प्रक्रियामा अनिवार्य रुपमा सहभागी हुन निर्देशन गरेको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरणको बारेमा मुख्यमन्त्री निवासमा बसेको सर्वदलीय वैठक सकिएको छ ।
बैठकमा प्रदेशको स्थायी राजधानीको लागि एउटा मात्र प्रस्ताव हेटौँडा र प्रदेशको एउटा मात्र नाम वागमती प्रस्ताव लैजाने बारेको छलफल भएको हो ।
छ्लफलमा नेकपाका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता डोरमणि पौडेल र उपनेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपाका रीता माझीले राजधानी हेटौँडा र नाम वागमतीमा सहमति गर्ने गरी छलफल गर्नु भएको छ । नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँले आफूहरु नकारात्मक नरहेको टिप्पणी गर्दै आधिकारिक निर्णय शनिबार दिने जानकारी दिनुभयो । यस्तै विवेकशील नेपाली र साझा विवेकशील पार्टीले आधिकारिक धारणा शनिबार सार्वजनिक गर्ने भएको छ ।
प्रदेश ३ को स्थायी राजधानी र प्रदेशको नामाकरणका लागि शनिबार प्रस्ताव माग गरिने भएको छ ।
प्रदेश ३ को प्रदेश सभाको शुक्रबार बसेको वैठकमा प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्ताव शनिबार माग गर्ने जानकारी गराइएको हो । प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावमाथि मत विभाजनबाट निर्णय गर्ने गरी प्रदेश सभामा निर्णयार्थ आइतबार पेस गरिने भएको छ ।
प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिश गरेको जिल्लामध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्ने गरी कार्य तालिका तय भएको प्रदेश सभाको वैठकमा सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
यसैगरी शनिबार प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि २०७६ मा भएको व्यवस्थाअनुसार प्रदेशको नामाकरणसम्बन्धी प्रस्ताव प्रदेश सभाका सदस्यले दर्ता गर्न समय प्रदान गरिएको छ । प्रदेश सभाको वैठकमा सभामुख श्रेष्ठले शनिबार विहान ९ वजेदेखि ११ वजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्न सकिने सुनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?