दीपक श्रेष्ठ
काठमाडौँ, पुस २७ गते । प्राकृतिक सौन्दर्य, खानाका परिकार, संस्कृति, सम्पदा र इतिहासका चाखलाग्दा कथाले पर्यटकलाई लोभ्याउँछ । इतिहासका कथा र नेपाली वीरताका गाथा जोडेर पदमार्गको विकास गर्न गहन अध्ययनसमेत भइरहेको छ ।
नेपाल एकीकरण र त्यसपूर्वको इतिहासलाई पर्यटकीय ‘प्याकेज’ बनाउन सकिन्छ ? इतिहासकार प्रा. दिनेशराज पन्त इतिहासको खोजी गरेर ती ठाउँमा पर्यटक लैजानु भनेको इतिहासको पनि सम्मान हो । यो निकै राम्रो काम हुनजान्छ भन्नुहुन्छ ।
नेपाली सेनाले आफ्नो संयन्त्र परिचालन गरेर देशभरका गढी, किल्लाको अध्ययन गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० कै सन्दर्भमा नेपाल सरकारले एकीकरण पदमार्गको प्रवद्र्धन गर्ने योजनासमेत बनाएको छ । एकीकरण पदमार्गको अध्ययनमा संलग्न तथा नेपाली सैनिक प्रतिष्ठानका प्रा.डा. कमलसिंह राठौर भन्नुहुन्छ– पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा यात्रा गरेका मार्गलाई पहिलो चरणमा अध्ययन गरिएको छ । यो मार्गमा पदयात्रासमेत सम्पन्न गरिएको छ ।
पृथ्वीनारायण शाहले १८०१ साल असोज १५ गते नुवाकोट विजय गरेपछि काठमाडौँलाई घेराबन्दी गर्ने क्रममा उत्तरतर्फ हुँदै पूर्व बढेका थिए गोर्खाली । कहिले विरोधीका किल्ला कब्जा गर्दै, कहिले पछाडि सर्दै गर्ने क्रममा कीर्तिपुरमा पहिलोपटक १८१४ साल जेठ १९ गते आक्रमण गरिएको थियो ।
कान्तिपुर अधीनस्थ नुवाकोट जितेको २५ वर्षपछि अर्थात् १८२५ साल असोज १३ गते काठमाडौँको शासन सत्ता पृथ्वीनारायण शाहले लिएका थिए । यसअघि मकवानपुर राज्यको नियन्त्रणमा रहेको सिन्धुलीगढी कब्जा गरेका गोर्खालीले मकवानपुर राज्य पनि जितेपछि काठमाडौँ पूर्णतः घेराबन्दीमा परेको थियो । इतिहासकार प्रा. पन्त काठमाडौँ घेराबन्दीमा परेपछि राजा जयप्रकाश मल्लले अङ्ग्रेजसँग सैनिक सहायता मागेका थिए । जयप्रकाशलाई सहायता गर्न आएका किनलक नेतृत्वको अङ्ग्रेज सेनासँग सिन्धुलीगढीमा १८२४ साल असोज १५ गते युद्ध भएको थियो भन्नुहुन्छ ।
एकीकरण पदमार्गमा इतिहासका यिनै किल्ला र गढी जोड्ने योजना छ, गोरखा पश्चिम र सिन्धुलीगढी पूर्वतर्फ पनि । पहिलो चरणमा नेपाली सैनिकका श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुज गणको सहभागितामा गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरिएको छ ।
एकीकरण पदमार्गको अवधारणलाई समृद्ध सिन्धुली अभियानले नागरिक स्तरमा दुई वर्षअघि अगाडि बढाएको थियो । सोही योजना अनुसार हरिहरपुरगढीदेखि सिन्धुलीगढी सम्मको पदयात्रा गत वर्ष सम्पन्न गरिएको थियो । समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरे इतिहासका वीरतापूर्ण कथालाई पर्यटनको प्याकेज बनाउनुपर्छ । यसले स्थानीय खाना, संस्कृति, जनजीवन र आर्थिक समृद्धिसम्म जोड्नुपर्छ भन्नुहुन्छ ।
प्रा.डा. राठौरका अनुसार पृथ्वीनारायण शाह दोस्रोपटक नुवाकोट आक्रमण गर्न जाँदा बास बसेका बोर्लाङ, चरङ्गे, तम्बै र खिम्चेकलाई पदमार्गमा समेटिएको छ । गोरखादेखि काभ्रेको शारदागढी सम्मको १९२ किलोमिटर पदमार्गलाई पहिलो चरणमा पहिचान गरिएको छ । नेपालमा कति गढी, किल्ला छन् ? तिनको विस्तृत अध्ययन अहिलेसम्म हुन सकेको छैन । इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरका अनुसार यस विषयमा ठ्याक्क भन्न सक्ने अवस्था छैन, अध्ययन हुनै बाँकी छ ।
नेपाल एकीकरण पूर्वका राजा रजौटाले निर्माण गरेका कतिपय गढ, किल्ला, थुम, ठानाको भौतिक संरचना नष्ट भइसकेको छ । यिनको खोज र अनुसन्धानलाई स्थानीय सरकार परिचालन गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ, प्रा.डा. राठौर । उहाँ बाटो निर्माणका क्रममा पाटीपौवा मासिएका, पुराना बाटा गोरेटा मासिएका पायौँ । यस्ता सम्पदा जोगाउनुपर्छ भन्ने विषयमा स्थानीयवासीमा जानकारीको अभाव रहेछ भन्नुहुन्छ ।
एकीकरण पदमार्ग निर्माण पछाडि पुराना गढी र किल्लाको संरक्षण प्रमुख उद्देश्य छ । राष्ट्रिय एकताको प्रवद्र्धनका साथै पर्यटन मार्फत स्थानीय संस्कृतिको संरक्षण गर्ने ध्येय रहेको छ । एकीकरण पदम(ार्गले उदयपुरको चौदण्डीगढीदेखि बैतडीको अजयमेरुकोटसम्म समेट्नेछ । यसका लागि सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ ।