logo
२०८१ मंसिर १३ बिहीवार



टुँडिखेलमा आजदेखि पार्किङ बन्द

राष्ट्रिय |


टुँडिखेलमा आजदेखि पार्किङ बन्द


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । राजधानीको टुँडिखेलमा माघ १ गतेदेखि पार्किङ गर्न नपाइने भएकोछ । काठमाडौँ महानगरपालिका वडा २८ का अध्यक्ष भाइराम खड्गीले भन्नुभयो, “काठमाडौँको केन्द्र भागमा रहेको टुँडिखेल सम्पदा समेत हो । यसको संरक्षणमा अभियन्ताहरूको आग्रहअनुसार साथ दिएको हुँ ।”
दुई दशकअघिसम्म राजनीतिक, सांस्कृतिक, सामाजिक गतिविधिका लागि प्रयोग हुँदै आएको टुँडिखेल (खुलामञ्च) अनधिकृत अतिक्रमणको चपेटामा परेपछि यो कदम चालिएको हो । बसपार्क, फुटपाथ ब्यापार र पार्किङले यतिबेला खुलामञ्चले सौन्दर्य गुमाएको छ ।
मानव अतिक्रमणमा परेको टुँडिखेलको स्वतन्त्रताका लागि नागरिकस्तरमा अभियानको थालनी भएको छ । ‘‘अकुपाई टुँडिखेल’’ भन्दै कात्तिक २३ गते विशाल मानव साङ्गलोले टुँडिखेल घेरा हालेको थियो ।
सो अभियानमा कलाकार, राजनीतिज्ञदेखि जनप्रतिधिसमेतले साथ दिएका छन् । हरेक शनिबार जनचेतनामूलक गतिविधि गर्दै आएका अभियन्ताहरूलाई साथ दिँदै काठमाडौँ महानगरपालिका वडा नम्बर २८ ले माघ १ गतेदेखि टुँडिखेलमा पार्किङ निषेधभन्दै ब्यानर टाँगेको छ । जनतादेखि जनप्रतिनिधिसम्म अभियानसमेत अभियन्ताले सञ्चालन गरेका छन् ।
टुँडिखेलभित्र अस्थायी बसपार्क, पार्किङ, व्यापारिक टहरा, भ्युटावर निर्माण सामग्री थुप्रिएका छन् । अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठका अनुसार, त्रिपुरेश्वरदेखि रानीपोखरीसम्म फैलिएको टुँडिखेलमा स्थायी रूपमै १३ स्थान मिचिएका छन् । उहाँले टुँडिखेलको ऐतिहासिक र राजनीतिक पृष्ठभूमि मात्र नभएर सांस्कृतिक पर्व, जात्रा र सम्पदासँग समेत गाँसिएको विषय भएको बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?