logo
२०८१ मंसिर १३ बिहीवार



गौरीशङ्कर संरक्षण क्षेत्रमा एउटै मेनु

राष्ट्रिय |


गौरीशङ्कर संरक्षण क्षेत्रमा एउटै मेनु



दोलखा समाचारदाता

चरिकोट, माघ ५ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका ९, स्थितको रोल्वालिङ उपत्यकामा भ्रमण गर्ने पर्यटकलाई लक्षित गरी मेनु लागू गरिने भएको छ । होटल तथा लज सञ्चालकले मनोमानी ढङ्गले पैसा असुल्ने गरेको नकारात्मक सन्देश आउन थालेपछि एकरूपता ल्याउन मेनु लागू गरिन लागिएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पनि मेनु एक पाटो हो । सिमीगाउँ–च्छोरोल्पा हिमतालसम्मका २५ वटा होटल तथा लजमा यो लागू गरिन लागिएको छ । सुरु अर्थात् प्रस्थान बिन्दु सिमीगाउँको सामान्य खानाको तीन सय बेडको दुई सयदेखि ५५० रुपियाँसम्म र अन्त्यको नाको सामान्य खानाको छ सय तथा प्रतिकोठाको छ सयदेखि दुई हजार रुपियाँ दररेट निर्धारण गरिएको छ ।
दूरी तथा भौगोलिक अवस्थासमेतलाई ध्यानमा राखी वैज्ञानिक हिसाबले मेनु निर्माण भएको छ । मेनु लागू भएपछि पर्यटक बढ्ने अपेक्षा राखिएको छ ।
होटल तथा लजका प्रमुख तथा प्रतिनिधि, संरक्षण क्षेत्र समिति, वडा अध्यक्ष तथा जनप्रतिनिधिसमेतको छ महिनाको लामो छलफलबाट मेनु तयार भएको उहाँले जानकारी दिनुभयो । च्छोरोल्पा हिमतालको महìवलाई केन्द्रित गरी स्विस सरकारको १० करोड रुपियाँ आर्थिक सहयोगमा छोत्छोतदेखि च्छोरोल्पासम्म ३३ किलोमिटर र नादेखि यलुङपाससम्म सात किलोमिटर गरी कुल ४० किलोमिटर पदमार्गको निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न भएको छ ।
विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार परियोजना÷भूकम्प आपत्कालीन सहायता आयोजना अन्तर्गत २०७३ सालदेखि पद मार्ग निर्माणको काम सञ्चालन हुँदै आएको थियो । विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिलाई ध्यानमा राखी पुनर्निर्माण तथा स्तरोन्नतिको माध्यमबाट प्रभावित ग्रामीण जनजीवनलाई सहज गराउन तथा विस्थापित समुदायहरूलाई पुनःस्थापना गराउने उद्देश्यले यो पदमार्ग निर्माण भएको हो ।
छोत्छोतदेखि च्छोरोल्पासम्म सुरक्षित पद यात्राका लागि आवश्यक रेलिङ तथा साँघुरा बाटा चौडा बनाउने, पदमार्गबारे जानकारी दिन आवश्यक ठाउँमा सूचना पाटीको व्यवस्था, पद मार्गमा परेका भूकम्पबाट प्रभावित पाँचवटा झोलुङ्गे पुलको निर्माण तथा मर्मत भएको छ । पदमार्ग निर्माण तथा मर्मत सम्भारसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । दूतावासले पदमार्ग निर्माण तथा मर्मतका लागि आवश्यक पर्ने सबै औजार र विद्युत् सेवा सञ्चालन नभएका ठाउँमा पर्यटकलाई सहजताका लागि ३.२ केभीको जेनेरेटरसमेत हस्तान्तरण गरिएको छ ।
दोलखाको उत्तरी क्षेत्र गौरीशङ्र हिमालको काखमा समुद्री सतहदेखि चार हजार ५८० मिटरको उचाइमा रहेको च्छोरोल्पा हिमताल धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । उच्च भूभागमा रहेको र हिमाली क्षेत्रको अध्ययन अवलोकन तथा भ्रमणका लागि धेरै पर्यटकको आगमन हुने गरेको छ ।
पछिल्लो समय त्यस क्षेत्रमा पर्यटकको चाप बढ्दै गएको र दूतावासको सहयोगमा व्यवस्थित पदमार्ग तथा ठाउँठाउँमा सूचना पाटीको व्यवस्था गरिएको हुँदा पर्यटकलाई सहज भएको छ । आवतजावत सहज भएसँगै खानपिन तथा बसाइको एकरूपता ल्याउन मेनु पनि लागू गरिएको गौरिशङ्कर गाउँपालिका प्रमुख स्वयमबहादुर खड्काले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?