logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि

राष्ट्रिय |


प्रदेश सभाको पाँचौँ अधिवेशन आजदेखि



बुटवल समाचारदाता

बुटवल, माघ ५ गते । प्रदेश नं. ५ प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि बुटवलमा सुरु हुँदैछ । यो अधिवेशनले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएपछि प्रदेशको अस्थायी राजधानी बुटवलका नागरिकले यो अधिवेशनलाई महत्वका साथ हेरेका छन् ।
प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउने कि त्यसको विकल्प खोज्ने भन्ने विषय अहिले यहाँ सर्वाधिक चासो र महत्वको भएको छ ।
मुख्यमन्त्री शङ्कर पोखरेलले समेत विभिन्न मञ्चमा प्रदेश सभाको पाँचौँ अधिवेशनबाटै प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने यसअघि बताइसक्नुभएको छ । खासगरी प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन यो अधिवेशन निर्णायक हुने आशा गरिएको छ । प्रदेशको राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिले समेत आफ्नो प्रतिवेदन प्रदेश सभामा बुझाइसकेकाले आइतबारदेखि बस्ने प्रदेश सभाको बैठकमा उक्त प्रतिवेदन प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुनमगरले आफूहरूले प्रदेश सभालाई प्रतिवेदन बुझाएको र आइतबारदेखि हुने अधिवेशनमा त्यस विषयमा प्रदेश सभामा छलफल हुने बताउनुभयो ।
प्रदेश–५ का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको पाँचौँ हिउँदे अधिवेशन माघ ५ गतेका लागि आह्वान गर्नुभएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम हिउँदे अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश सभाका सदस्य विष्णु पन्थीले प्रदेश सभाको यो अधिवेशनबाटै प्रदेशको राजधानी र नाम तोकिने कुरामा आफू ढुक्क रहेको बताउनुभयो ।
त्यसैगरी प्रदेश सभाका अर्का सदस्य फकरुद्दीन खानले अरू प्रदेशले राजधानी र नामको विषय टुङ्गो लगाउँदै गएकाले अब प्रदेश–५ ले पनि राजधानी र नामको विषय टुङ्गो लगाउन ढिलाइ गर्न नहुने बताउनुभयो । गत असोज २ गते प्रदेश सभाको चौथो अधिवेशन विभिन्न ९ वटा विधेयक पारित गर्दै अन्त्य भएको थियो ।
प्रदेश सभाका लागि अहिले धेरै ‘बिजनेस’ पनि नभएकाले ढिलोगरी माघ ५ गतेका लागि संसद्को आह्वान गरिएको बताइएको छ ।
प्रदेश सरकारलाई आवश्यक करिब १३५ वटा कानुनमध्ये प्रदेश सभाले यस अघिका चारवटा अधिवेशनबाट ४८ वटा विधेयक पास गरी कानुनको रूप दिइसकेको छ ।
प्रदेश सभाको आइतबारको बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश–५ को प्रदेश सभामा नेकपाका ६१, नेपाली काँग्रेसका १९, सङ्घीय समाजवादी फोरम ५ र राजपा तथा राष्ट्रिय जनमोर्चा नेपालका एक/एक सांसद गरी कुल ८७ सांसद छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?