logo
२०८१ मंसिर १० सोमवार



धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नु भएको स्थानमा श्रद्धाञ्जली सभा 

राष्ट्रिय |


धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नु भएको स्थानमा श्रद्धाञ्जली सभा 


काठमाडौं, माघ १३ गते । सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा उहाँको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको छ । सहिद सप्ताहको दोश्रो कार्यक्रम माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा महानगरका प्रमुख एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले शालिक अनावरण गर्नुभएको हो । 

पहिलो पटक २०५३ माघ १३ गते नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले अहिलेको स्थानभन्दा करीब ५ मिटर पूर्वमा अनावरण गर्नु भएको शालिक अर्धकदको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । गएको बर्ष शालिकलाई भण्डारेश्वर धार्मिक सेवा समितिले सुनौलो रङ्ग लगाएको थियो । यस बर्ष महानगरले करीब १० लाख रुपैयाँ लागतमा पूर्णकदको कालो रङ्गको शालिक निर्माण गराएको हो ।

शालिक अनावरणपछि बोल्दै मेयर शाक्यले भन्नुभयो- सहिद त धरै छन् तर नाम भन्ने बेला चार सहिदको नाम आउँछ किनभने उहाँहरुले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर सामुहिक समृद्धिका लागि ज्यानको बाजी लगाउनु भयो । त्यो बाटो हामीले अनुसरण गर्नुपर्छ । नागरिकले अधिकारका प्राप्तिका क्षेत्रमा हात लागेका उपलब्धीलाई संस्थागत र जनताको हितमा प्रयोग गर्नुपर्छ । त्यस क्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले- समृद्धि र बिकासले मात्र सहिदको सपना पूरा हुने धारणा राख्नुभयो । अहिले हामीले प्राप्त गरेको स्वतन्त्रता सहिदले दिलाएको हो, त्यसैले हामी भाग्यमानी छौं, उहाँको बिचार थियो ।सभामा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले सहिदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गर्नुभयो ।

सभामा बोल्दै शिक्षाबिद् एवं त्रिभुवन बिश्वबिद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले, महानगरले सहिदहरुको पूर्ण कदको शालिक निर्माण गर्न लगाएपछि सहिदको बलिदानीका बारेमा नयाँ पुस्तालाई स्मरण गराउन सजिलो भएको बिचार राख्नुभयो । सहिदको बलिदानी सम्झना गर्ने गराउने दिशामा महानगरले गरेको काम प्रशंशनीय छ, शालिक निर्माण गर्न लगाउनु त्यसको उदाहरण हो धारणा राख्ने क्रममा माथेमा गुठीका अध्यक्ष नरेशरामभक्त माथेले खुशि व्यक्त गर्नुभयो ।

माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उहाँलाई नपुग्दो केही थिएन । उहाँ दरवारभित्रैको पहुँचवाला हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र सम्पन्नतालाई महत्व दिनुभयो । त्यसैले अहिले प्राप्तभएको राजनीतिक उपलब्धीमा धर्मभक्तको योगदान शव्दमा कम हुनेमा बक्ताहरुको जोड थियो ।

१९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेके बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई ज्यानदण्ड दिएका थिए । शालिक कलाकार महेश तुलाधरले तयार पार्नुभएको हो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले १९९७ साल माघ ६ गते शुक्रराजशास्त्री, धर्मभक्तमाथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यायाम शिक्षक हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्रका पक्षमा काम गर्न राजालाई प्रजा परिषद्को सदस्यसमेत बनाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?