logo
२०८१ मंसिर १४ शुक्रवार



नेकांद्वारा सहमतिमा १४ औं महाधिवेशनको कार्यतालिका पारित

राष्ट्रिय |


नेकांद्वारा सहमतिमा १४ औं महाधिवेशनको कार्यतालिका पारित
तस्बिरः सागर बस्नेत


नारद गौतम
काठमाडौं, माघ १३ गते । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार बसेको बैठकले १४ औं केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने सर्वसम्मत निर्णय गरेको छ । यसअघि संस्थापन पक्षको बहुमत केन्द्रीय सदस्यको बैठकले गरेको फागुन ७ को मितिलाई कायम राख्दै गाउँ÷नगर वडा अधिवेशनको मिति भने झण्डै एक महिना अगाडि सारेको छ ।
पहिला मंसिर ९ गतेबाट सुरु गर्ने निर्णय भएकोमा अब २०७७ कात्तिक १६ गतेबाट वडा अधिवेशन सुरु हुने छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा करिब पाँच घण्टा ढिलो सुरु भएको बैठकले यस्तो निर्णय गरेको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो ।
संस्थापन पक्षको कार्यबाट असन्तुष्ट भई गएको मंसिर २६ गते कार्यसमितिको बैठकदेखि अनुपस्थित रहँदै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल, महमन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरु सोमबारको बैठकमा सहभागी रहनुभयो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता शर्माले भन्नुभयो, पार्टीमा रहेका विमतिलाई संवादका माध्यमबाट सहमति कायम गरी महाधिवेशनको कार्यतालिकालाई बैठकले पारित गरेको छ । देश विदेशमा रहनु भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई सन्तोष र सुख मान्नुपर्ने वातावरण सिर्जना गर्न केन्द्रीय कार्यसमिति सफल भएको छ ।
यसबीचमा वरिष्ठ नेता पौडेलसहितका नेताले जिल्ला सभापतिहरुको परामर्श बैठक बोलाएर सभापति देउवालाई दबाब पनि दिनुभयो । जिल्ला सभापतिको परामर्श र देशभरका कांग्रेसका नेता तथा कार्यकर्ताबाट मिलेर जानका लागि गरिएको आग्रह अनुसार सभापति शेरबहादुर देउवा निवासमा गएको शुक्रबार बिहान ९ देखि ४ बजेसम्म बसेको शीर्ष नेताको बैठकले सहमतिको ढोका खोल्न सफल भएको थियो ।
सोही सहमति अनुसार, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत र रमेश लेखकले तयार गर्नु भएको संशोधित कार्यतालिकालाई बैठकमा प्रस्तुत गरिएको थियो ।
केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनपश्चात् क्रियाशील सदस्यता वितरण÷नवीकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।
यसैगरी, निर्णय अनुसार, महिनाको अन्त्यसम्म पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने, विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि २०७६ फाल्गुणदेखि २०७६ चैत्र मसान्तसम्म सक्नुपर्ने छ ।
वि. सं. २०७७ वैशाख मसान्तभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउनुपर्ने छ ।
यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि २०७७ जेठ १५ गतेसम्मलाई तोकिएको छ ।
उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले जेठ मसान्तसम्म निर्णय गरिसक्नु पर्ने, असार १५ सम्म उजुरी दिइसक्नु पर्ने, साउन १५ सम्म सदस्यताको टुंगो लगाउनु पर्ने छ ।
सभापति शेरबहादुर देउवाले सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्नु हुने छ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने जिम्मेवारी बैठकले सभापतिलाई दिएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे पुनः बस्नेछ ।

कांग्रेस महाधिवेशनको कार्यतालिका
 गाउँ÷नगर वडा अधिवेशन– २०७७ कात्तिक १६ गते
 गाउँ÷नगरपालिका अधिवेशन– २०७७ कात्तिक १८ गते
 प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
 एक मात्र प्रतिनिधिसभा सदस्यको क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २३
 एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्तिक २५ गते
 प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
 केन्द्रीय महाधिवेशन ः २०७७ फाल्गुण ७ देखि १० गतेसम्म ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?