logo
२०८१ मंसिर ९ आईतवार



सौराहामा घटे पर्यटक

राष्ट्रिय |
पर्यटन |


सौराहामा घटे पर्यटक


चितवन समाचारदाता

चितवन, माघ १८ गते । छिमेकी मुलुक चीनमा देखिएको कोरोना भाइरसको प्रभाव चितवनको पर्यटन व्यवसायमा प्रत्यक्ष परेको छ ।
भाइरसको प्रभावले गर्दा चितवनमा चिनियाँ पर्यटक आउन बन्द भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । जनवरीदेखि अप्रिलसम्म धेरै चिनियाँ पर्यटक चितवन घुम्न आउने गरेका थिए, भाइरसले गर्दा अहिले बन्द भएको छ, उहाँले भन्नुभयो, यसको प्रभावले चीनको मात्र होइन अन्य देशका नागरिक पनि आउन पातलो भएको छ ।
भन्नलाई गाह्रो भए पनि नयाँ वर्षदेखि नै सौराहा क्षेत्र सुनसान भएको पर्यटन व्यवसायीको भनाइ छ । चीनमा भाइरस देखिनु, अन्य देशका नागरिक पनि सुरक्षाको कारण घुम्न आउन छाड्नु, भएका बुकिङ रद्द गर्नुले गर्दा अहिले सौराहामा आन्तरिक पर्यटकबाहेक अरू देख्न पाइँदैन, भट्टराईले भन्नुभयो ।
दैनिक पाँच सयदेखि सात सयको हाराहारीमा चिनियाँ पर्यटक आउने गरेका थिए, अध्यक्ष भट्टराईले भन्नुभयो अहिले एक जना पनि आएका छैनन् । उहाँहरू मात्र होइन भारतीय, अन्य मुलुकका पर्यटक सङ्ख्या पनि निकै कम भएको छ । यस्तो अवस्थामा पर्यटन व्यवसाय कसरी चलाउने भन्ने चिन्ता लागेको छ ।
सौराहाका पर्यटन व्यवसायी माधव दुवाडीले भन्नुभयो, कोरोना भाइरसको प्रभाव चितवनमा पनि देखियो । चीनका मात्र होइन अरू मुलुकबाट आउने पर्यटक पनि घट्दै गए ।
क्षेत्रीय होटल सङ्घ पश्चिम चितवनका अध्यक्ष गणेश पौडेलले भन्नुभयो, यो समय चिनियाँका लागि नेपाल घुम्न आउन उपयुक्त छ । चिनियाँका कारणले यो समय होटल भरिभराउ हुन्थे तर यसपटक होटल सुनसान छन् ।
अन्य मुलुकका पर्यटकले पनि अहिले बुक रद्द गरेका छन्, रोगको महामारी रोकथाम नभए पर्यटन क्षेत्र नै धराशयी हुन्छ, पौडेलले भन्नुभयो ।
पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीका अनुसार सन् २०१७ मा चितवन आउने कुल पर्यटकमध्ये चिनियाँ ३० प्रतिशत रहेको थियो । सन् २०१८ मा चिनियाँ २३ प्रतिशतमा झरेको थियो । सन् २०१९ मा ३० प्रतिशतभन्दा धेरै आएको हामीले पाएका छाँै । भ्रमण वर्ष सुरु भएपछि चिनियाँ पर्यटक वृद्धि हुने अनुमान लगाएका थियो तर कोरोना भाइरसले गर्दा बन्द भएपछि यहाँको पर्यटन क्षेत्रमा नराम्रो प्रभाव पारेको छ, उहाँले भन्नुभयो ।

विमानस्थलमा हेल्थ डेस्क
कोरोना भाइरसले गर्दा चीनको अवस्था भयावह बनाएपछि रोगको विषयमा जानकारी दिने उद्देश्यले भरतपुर विमानस्थलमा हेल्थ डेस्क राख्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिकाले शनिबारदेखि विमानस्थलबाट चितवन आउने र जाने यात्रुलाई रोगको विषय र उपचारको विधिका बारेमा जानकारी दिने तयारी भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भन्नुभयो, चितवनमा रोगको समस्या देखिएको छैन तर यहाँ आउने पर्यटक र सर्वसाधारणलाई रोग लागे कसरी उपचार गर्ने, सतर्क कसरी रहने भन्ने विषयमा जानकारी दिन हेल्प डेस्क राख्न लागिएको छ । भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थलमा हेल्थ डेस्क राख्दै छ, यसले गर्दा केही हदसम्म जानकारी हुने छ, उहाँले भन्नुभयो ।

भरतपुर अस्पतालमा अलग्गै युनिट
उपत्यकाबाहिर सबैभन्दा धेरै बिरामीको चाप हुने भरतपुर केन्द्रीय अस्पतालमा आइसोलेसन वार्ड खडा गरिएको छ । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि केन्द्रीय सरकारको पत्रअनुसार कोरोना भाइरसलाई केन्द्रित गरी यहाँ पनि अलग्गै वार्ड स्थापना गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर श्रीराम तिवारीले भन्नुभयो, शङ्कास्पद व्यक्तिलाई अलग्गै परीक्षण गरी उपचार गर्नका लागि पाँच शøयाको
आइसोलेसन वार्ड खडा गरेका छौँ । शङ्कास्पद व्यक्तिको उपचारका लागि दुई जना महामारी रोग विशेषज्ञ डाक्टरलाई खटाइएको छ ।   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?