लक्ष्मी खतिवडा / गोकर्ण दयाल
बैतडी, फागुन १ गते । सानो अव्यवस्थित बस्ती । प्रायः घरमा टिनको छाना पनि छैन । प्वाल परेको टायलको छानालाई सबैले प्लास्टिकले छोपेका थिए । सडकभन्दा केहीमाथि रहेको उक्त बस्ती झट्ट हेर्दा नीलो, कालो र हरियो रङको प्लास्टिकले रङ्गीचङ्गी देखिन्थ्यो । बस्ती नजिकै पुग्दाको माहोल त झनै अस्तव्यस्त थियो ।
हलिया गाउँ भनेर चिनिने उक्त गाउँमा सबै हलिया समुदायको मात्र बसोबास छ । हलिया बस्तीका एउटा घर पनि व्यवस्थित छैन । सानो बस्तीमा पनि धेरै बालबालिका घरमै झोक्राइरहेका भेटिए । उनीहरू नयाँ मान्छे देख्नासाथ केही सोध्ने हो कि भन्ने डरले भागिहाल्थे ।
घर छेउमा घाम तापिरहेका शङ्करराम भुलले भन्नुभयोे, “चप्पल चुँडिएको तीन दिन भइसक्यो । चप्पलको तुना किन्ने पैसा पनि छैन । ’’ नजिकै रहेको साइलेक मावि, बाडिलेकमा कक्षा ७ पढ्ने शङ्कररामले यसअघि धेरै दिन पोसाक नभएर विद्यालय नगएको सुनाउनुभयो ।
त्यस्तै हर्के भुलको पनि समस्या उस्तै छ । कापी र कलम नभएर उहाँ पनि विद्यालय नगई घरमै घाम तापिरहनुभएको थियो । आमा विमली भुलले भन्नुभयो, “मेरो छोरो विद्यालय पढ्ने विद्यार्थी हो तर कापी र कलमको जोहो गरिदिन नसक्दा विद्यालय
गएको छैन । ”
बैतडीमा रहेको यस दशरथचन्द आधारभूत विद्यालयको इतिहास निकै पुरानो भए पनि अहिले यहाँ अध्ययनरत बालबालिकाको अवस्था अत्यन्तै दयनीय छ । बैतडीको गढीमा वि.सं. १९७६ जेठ २ गते भाषा पाठशाला स्थापना भएको विद्यालयको साइन बोर्डमा लेखिएको छ । तर तत्कालीन राणा प्रधानमन्त्री देवशमशेरले वि.सं. १९५७–५८ मा ११४ दिन प्रधानमन्त्री हुँदा तराई र पहाडमा भाषा पाठशाला खोलेका थिए । सम्भवतः त्यसै बेला खोलिएको भाषा पाठशाला हुन सक्ने कतिपयको भनाइ छ । त्यस्तो ऐतिहासिक विद्यालयमा अहिले भने हलिया समुदायका बालबालिका मात्र अध्ययन गर्छन् । यसअघि गाउँका ठूलाबडाका छोराछोरीले पनि पढ्ने गरेको यो विद्यालयमा अहिले दलित र मुक्त
हलियाका बालबालिका मात्र अध्ययन गर्ने गरेको स्थानीयवासी बताउँछन् । गोरखापत्रकर्मी विद्यालयमा पुगेको दिन विद्यालयले उनीहरूलाई पहिलो पटक दिउँसोको समयमा निःशुल्क खाजा वितरण गरेको थियो । भोक लागेको समयमा विद्यालयमा हलुवा, चना र पुरी खान पाउँदा उनीहरू फुरुङ्ग देखिन्थे ।
लामबद्ध भएर उभिएका उनीहरूलाई हामीले सोध्यौँ, “आज सबैभन्दा बढी भोक कसलाई लागेको थियो । ल हात उठाऊ त ? विद्यालयको चउरमा लामबद्ध सबैले खुसी हुँदै एकै पटक हात उठाए । ” त्यसपछि एकले नजिकै रहेको साथीलाई देखाउँदै भन्न थाले, “यो पनि आज भोकै विद्यालय आएको, त्यो पनि भोकै आएको । ”
दुुई चार जनाबाहेक कुनै विद्यार्थीको हातमा झोला थिएन । सुकिलो पोसाक थिएन । न्यानो लुगा थिएन । गाता भएको किताब थिएन । घरमा काम गर्दा लगाउने एकसरो मैलो लुगा र चुँडिएको चप्पल लगाउने धेरै थिए । कति विद्यार्थीले चप्पलको तुना चार पाँचवटासम्म काँटीले अड्याएको प्रस्ट देखिन्थ्यो । कतिको चुँडिएकै चप्पल थियो । शताब्दी नाघेको ऐतिहासिक विद्यालयको भौतिक संरचना पनि अत्यन्तै जीर्ण छ । शौचालयमा पानी छैन । विद्यालयको भवनपछाडि आधा भागमा पहिरो खस्न लागेको छ ।
हुरीले विद्यालयको छानो उडाउँदा रेडक्रसले ५० हजार रुपियाँ सहयोग गरेर बल्ल विद्यार्थी ओत लाग्न पाएको एक शिक्षकले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुराम भुलले भन्नुभयो, “यो विद्यालयमा गरिब, दलित र मुक्त हलियाका बालबालिका मात्रै अध्ययनरत भएकाले विद्यालय सुधार गर्न कसैले चासो नदेखाएको हो । ”विद्यालयमा ६५ विद्यार्थी भर्ना भए पनि हरेक दिन ३० देखि ४० जना मात्र नियमित विद्यालय आउने उहाँले बताउनुभयो । प्रधानाध्यापक सरपसिंह ठगुन्नाका अनुसार हलिया समुदायका अभिभावक दिनभरि गिट्टी कुटने र ज्यामी काम गर्छन् । त्यसरी कमाएको पैसाबाट रक्सी खाने र घरमा बालबालिकालाई कुटपिटसमेत गर्छन् । यो समुदायसँगै विद्यालयको अवस्था पनि सुधार हुन सकेको छैन ।