जनार्जन खत्री
सर्लाही, फागुन ६ गते । सर्लाहीमा जीर्ण अवस्थामा रहेका नेपाल–भारत सीमा स्तम्भ (पिलर) हरुको मर्मत गर्न सुरु गरिएको छ ।
नेपाल र भारतको संयुक्त टोलीले सर्लाहीको दक्षिण–पूर्वी सीमाना सङ्ग्रामपुरदेखि दक्षिण–पश्चिम सीमाना बलरासम्मको सीमा स्तम्भ मर्मत गर्न सुरु गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले दुवै देशको संयुक्त टोलीले कुन–कुन स्तम्भ भत्किएका छन्, कुन–कुन स्तम्भ हराएका छन् र कुन–कुन पुनर्निर्माण गर्नु पर्ने छ भनी अध्ययन गरी मर्मत र पुनर्निर्माण कार्यको थालनी गरेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार सर्लाहीमा मुख्य, सहायक र साना गरी ३३९ वटा सीमा स्तम्भ हुनुपर्छ । तर हाल तीन सय वटा सीमा स्तम्भ मात्रै अस्तित्वमा रहेका छन् । निर्माण भएको ठाउँबाट दुईवटा स्तम्भ हराएका छन् भने ३२ वटाको निर्माण स्थल नै फेला परेको छैन् । त्यस्तै पाँच ठाउँमा निर्माण गर्नुपर्ने सीमा स्तम्भ हालसम्म निर्माण नै नभएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो । भएका पिलर मध्ये २३८ वटालाई मर्मत गर्नुपर्ने तथा ३१ वटाको पुनर्निर्माण नै गर्नुपर्ने अवस्था छ ।
सर्लाहीमा पर्ने कुल सीमा स्तम्भमध्ये नेपालको तर्फबाट १५५ वटा सीमा स्तम्भ मर्मत गरिने नापी विभाग अन्तर्गतको नेपाल–भारत सीमा सर्वेक्षण टोलीले जनाएको छ । टोलीका प्रमुख उमेशकुमारका अनुसार नेपालको तर्फबाट १५५ वटा र भारतको तर्फबाट पनि सोही सङ्ख्याको हाराहारीमा सीमा स्तम्भ मर्मत गर्ने सहमति अनुसार काम सुरु गरिएको छ । गत वर्ष स्थलगत अनुगमन गर्दा जीर्ण अवस्थामा फेला परेका सीमा स्तम्भहरु दुवै देशको सहमतिमा मर्मत गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।
पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्र अतिक्रमणमा परिरहेको अवस्थामा दुवै देशको तर्फबाट सीमा स्तम्भ मर्मत सम्भारको काम थालिएको हो । अन्तराष्ट्रिय मान्यता विपरीत सर्लाहीको सीमरा फेन्हरा, अर्नाहा, बसभिट्टा लगायतका सीमा क्षेत्रमा दुवै देशका नागरिक घर टहर निर्माण गरी व्यापार व्यवसाय गरेर बसिरहेका छन् ।