शालिग्राम नेपाल
चितवन, चैत २ गते । आउँदो जनगणनामा भरतपुर महानगरपालिकाभित्र ट्याबलेटको माध्यमबाट तथ्याङ्क संकलन गरिने भएको छ ।
केन्द्रीय तथ्याङक कार्यालयले नेपालका छवटा महानगरपालिकामा ट्याबलेटको माध्यमबाट तथ्याङ्क संकलन गर्ने तयारी गरेको हो । ती मध्य भरतपुर महानगरपालिको २० वटै वडामा प्रविधिको प्रयोग गर्दै ट्यावलेटको प्रयोग गर्न लागेको तथ्याङक कार्यालय चितवनका प्रमुख युज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।
परम्परागत विधि कागजमा विवरण भरिंदै आएकोमा यस पटक महानगरपालिकामा ट्याबलेटको प्रयोग गर्न लागेको हो । अन्य पालिकामा कागजी माध्यमबाटै विवरण संकलने गरिनेछ भने महानगरमा मात्रै ट्याबलेटको प्रयोग हुन्छ ।
‘विदेशमा प्रविधिका नयाँ उपकरणहरु प्रयोग भएका छन्, हामी भने कागजबाट माथि उठेर विवरण संकलन गर्न लागेका हौं’ उहाँले भन्नुभयो ।
यसबाट विवरण संकलन गर्दा गल्ती नहुने, तथ्याङ्क छिटो जानकारी पाउन सकिने, डाटा संकलन गर्न कठिनाइ नहुने जस्ता सहज कार्य हुने उहाँले भन्नुभयो ।
जनगणना तयारीको लागि तथ्याङक कार्यालयले चितवन, नवलपरासी पूर्व र पश्चिममा नक्साङ्कन कार्य सम्पन्न गरिसकेको छ । जनगणनाको लागि उपयुक्त हुने गणना क्षेत्र समेत तोकेको छ । चितवनमा सात वटा पालिकाहरु रहेका छन् । चितवन र नवलपरासीमा जनगणनाको लागि पायक पर्ने गरी स्थानीय सम्पर्क कार्यालय पनि तोकेको छ । भरतपुर महानगरपालिकामा तीन वटा, कालिका नगरपालिका, माडी र राप्ती नगरपालिकामा गरी छ वटा कार्यालय स्थापन गर्ने भएको छ ।
त्यस्तै गरी नवलपरासीको कावासोती, गैडाकोट, मध्यविन्दु, रामग्राम, सुनवाल र वर्दघाट गरी छवटा कार्यालय स्थापना गर्ने निश्चित भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो । अब हुने जनगणनामा शिक्षकहरुलाई नखटाई १२ कक्षा पास गरेका विद्यार्थीलाई गणकको रुपमा खटाइने तयारी भएको छ । यस अगाडि दुई चरणमा हुने जनगणना अहिले एकै पटक तथ्याङक संकलन गरिने उहाँले बताउनुभयो । हरेक १० वर्षमा हुने जनगणना आउँदो २०७८ मा जेठबाट हुँदैछ ।