logo
२०८१ मंसिर १२ बुधवार



तेस्रो मुलुकका सामान क्वारेन्टाइनमा

अर्थ |


तेस्रो मुलुकका सामान क्वारेन्टाइनमा


भैरहवा समाचारदाता

भैरहवा, चैत ८ गते । कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ । सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी चिन्तित बनेका छन् । चीनमा कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि केही दिनदेखि सामान आयात हुँदै आएकोमा पछिल्लो समय भारतले तेस्रो मुलुकका सामान आयातमा कडाइ गरेकाले आयात निर्यात रोकिएको उद्योगी व्यवसायीले बताएका छन् ।
मान्छेबाट मात्र नभई सामानबाट पनि कोरोना सर्ने भएकाले भारतले नै तेस्रो मुलुकबाट आयात हुने सामानलाई कडाइ गर्दा नेपालमा पनि त्यसको असर परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो । “चीनलगायत कतिपय मुलुकबाट आउने सामानलाई भारतले सेल्फ क्वारेन्टाइनमा राखेको सुनिएको छ, यसको असर मुलुकको उद्योग व्यवसायमा पनि पर्छ”–उहाँले भन्नुभयो ।
पछिल्लो समय भारतले नाकाबन्दी लगाएपछि बढेको चीनतर्फको व्यापारमा कोरोनाका कारण ह्रास आएको उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो । तेस्रो मुलुकका सामान रोकिँदा नेपाली अर्थतन्त्रमा यसको प्रत्यक्ष असर गर्ने उहाँले बताउनुभयो । “तयारी सामान नआउँदा खासै फरक पर्दैन तर यहाँ उत्पादन नभएका सामान रोकिँदा बजारमा अभाव सिर्जना हुन्छ”–उहाँले भन्नुभयो ।
यता, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले तीन–चार दिनयता तेस्रो मुलुकका सामान आयात नभएको बताउनुभयो । “कुल सामान आयातको छ प्रतिशत तेस्रो मुलुकबाट आयात हुने गरेको थियो, तीन–चार दिनयता सामान आएको छैन”, उहाँले भन्नुभयो । उहाँले कोरोनाका कारण चीनमा उद्योगधन्दा बन्द गरिएकाले उत्पादन नभएका कारण सामान आयात हुन नसकेको बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?