logo
२०८१ मंसिर ११ मंगलवार



सप्तरीको सीमानामा सशस्त्र प्रहरीले थाले पैदल गस्ती

राष्ट्रिय |
समाज |


सप्तरीको सीमानामा सशस्त्र प्रहरीले थाले पैदल गस्ती
पैदल गस्तीमा सशस्त्र प्रहरी । तस्बिर - माला कर्ण



माला कर्ण
सप्तरी, चैत ३० गते । सीमानाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको हो ।

नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिनुभयो ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सातवटा मात्र बिओपी थियो । सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११/१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो त्यसैले नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको प्रहरी उपरीक्षक न्यौपानेले बताउनुभयो।

कोरोना संक्रमण रोकथामका लागि सीमा नाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै सीमामा थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताउनुभयो ।

लक डाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पाँच, छिन्नमस्ता गाउँपालिकामा सात, राजगढ गाउँपालिकामा १०, तिलाठी कोइलाडी गाउँपालिकमा चार, डाकनेश्वरी नगरपालिकामा नौ, बोदे बर्साइन नगरपालिकामा १२ र बलान बिहुल गाउँपालिकामा आठ स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?