प्रदेश व्यूरो
हेटौँडा, वैशाख २३ गते । देशका अन्य प्रदेशमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण बढ्दै गर्दा बाग्मती प्रदेशमा सङ्क्रमण भएका छ जना निको भएर फर्किएका छन् ।
सात जनामध्ये छ जना उपचारपछि निको भएर घर फर्किएको र एक जना उपचाररत रहेका छन् ।
चितवनका आरटी–पीसीआर पोजेटिभ देखिएका उपचाररत रहेको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपालमा सबैभन्दा पहिले गत माघ ९ गते बाग्मती प्रदेशको काठमाडौँमा नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौमा चार, चितवनमा तीन र धादिङका एक जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो ।
बाग्मती प्रदेशका सबै जिल्लामा कोरोना भाइरसका शङ्कास्पद विरामी राख्न र उपचारका लागि आइसोलेसन वार्ड बनाइएको छ । कोरोना सङ्क्रमित राख्न प्रदेशका १३ जिल्लामा तयार गरिएको ९४३ शय्याका आइसोलेसन कक्ष रहेका छन् । तीमध्ये अहिले प्रदेशका ११ जिल्लाका सबै आइसोलेसन कक्ष खाली छन् । १२४ शय्या क्षमताको आइसोलेसन कक्ष रहेको ललितपुर जिल्लामा हाल आइसोलेसन कक्षमा तीन जना र ३५ शय्या रहेको मकवानपुर जिल्लामा समेत तीन जनामात्र आइसोलेसन कक्षमा कोरोना भाइरसका शङ्कास्पद विारमी रहेका छन् ।
यस्तै तीन हजार ९७२ शय्याको क्वारेण्टाइन कक्ष प्रदेशभरमा रहेकोमा नौ जिल्लाको क्वारेन्टाइनका शय्या खाली छन् । हाल नुवाकोटमा एक जना, धादिङमा १४० जना, रसुवामा छ जना र सिन्धुपाल्चोकमा ३६ जना गरी १८३ जना क्वारेण्टाइनमा रहेको सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रबक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिनुभयो ।
ललितपुर र मकवानपुर बाहेक अन्य सबै जिल्लामा आइसोलेसन कक्षमा कोरोनाका शङ्कास्पद विरामी छैनन् ।
ललितपुरमा ६८९, रसुवामा २९१, नुवाकोटमा एक हजार ३०६, मकवानपुरमा १२, काभ्रेपलाञ्चोकमा ९३ र सिन्धुपाल्चोकमा १०२ गरी दुई हजार ४९३ जना होम क्वारेण्टाइनमा रहेका छन् ।
आइसोलेसन कक्षमा कोरोनाका शङ्कास्पद विरामी नभएपनि स्वास्थ्यकर्मीसहित आवश्यक तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । बाग्मती प्रदेशमा हालसम्म आरडीटी आठ हजार ८५३ जनाको र आरटीपीसीआर दुई हजार २२४ जनाको परीक्षण गरिएको छ ।