दीपक ज्ञवाली
बुटवल,बैशाख २७ गते । खुल्ला सीमाको फाइदा उठाउँदै लुकिछिपी नेपाल छिर्नेहरूका कारण प्रदेश ५ मा कोरानाको जोखिम झन् बढ्दै गएको छ । लुकिछिपी भारतबाट कपिलवस्तु छिरेकाहरूमा सङ्क्रमण बढ्दै गएपछि जोखिम झन् बढेको हो ।
पछिल्लो पटक शनिबार कपिलवस्तुका थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरुमध्ये दुई जना मायादेवी गाउँपालिका र एक जना सुद्धोधन गाउँपालिकाका हुन् । कोरोना पुष्टि भएसँगै उनीहरूलाई शनिबार नै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याईएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।
स्थानीयका अनुसार उनीहररू भारतको मुम्बइबाट चाकरचौराह नजिकको दशगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । बैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए । यद्यपि यसबारे स्थानीयबाट सत्यतथ्य बुझ्न बाकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । यसअघि २ दिनअघि कोरोना संक्रमण देखिएका २ जना पनि मायादेवी गाउपालिका २ कै रहेका थिए । उनीहरू पनि उसैदिन मुम्मईबाट चाकरचौराह नजीकको नाका हुँदै लुकिछिपी नेपाल भित्रिएका थिए । राति घर गएका उनीहरूलाई बाहिरै खाना खान दिएर स्थानीय र घरपरिवारले क्वारेन्टाइनमा लगेका थिए । मायादेवी गाउपालिकाको सो क्वारेन्टाइनमा रहेका ६५ जना रहेका छन् । त्यसमध्ये ५ जनामा कोरोना भाइरको संक्रमण देखिएको हो ।
प्रदेश ५ का तराईका ६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । खुला सीमाको फाइदा उठाउदै धेरै नागरिक अहिले नेपाल भित्रिएका छन् । सुरक्षाकर्मीको निगरानीका बावजुद फर्केका केही अझै पनि घरमै रहेकाले खोजी जारी राखेको प्रशासनले जनाएको छ । प्रदेशका बाँके,कपिलवस्तु र रुपन्देहीमा संक्रमित देखिएका छन् । यसमध्ये बाँके र कपिलवस्तुमा संक्रमितको संख्या थपिँदै गएको छ ।