काठमाडौँ, वैशाख २७ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि थप ५० हजार रुपियाँ अनुदान वितरण गर्ने भएको छ । ‘भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि’अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई यो रकम वितरण गरिने प्राधिकरणले जनाएको छ । रकम नपुगेर आवास पुनर्निर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान उपलब्ध गराउने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
कार्यविधिमा व्यवस्था भएको यो प्रावधान विगतमा विविध कारणले कार्यान्वयनमा आउन सकेको थिएन । कार्यान्वयनमा ल्याउन नसकिएको यो अनुदानलाई कार्यान्वयन गर्न शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिले निर्णय गरेको सहप्रवक्ता घिमिरे जानकारी दिनुभयो ।
प्राधिकरणले थप ५० हजार पाउन योग्य १८ हजार ५०५ जना लाभग्राही पहिचान गरेको थियो । यसमध्ये आवास पुनर्निर्माण गरी तेस्रो किस्ता लिइसकेका लाभग्राहीले भने थप अनुदान नपाउने प्राधिकरणले जनाएको छ । पहिलो र दोस्रो किस्ता लिएका तथा पुनर्निर्माण अधुरा रहेका जोखिमका लाभग्राहीले मात्र पाउने घिमिरेले बताउनुभयो ।
अहिले स्थानीय तहलाई थप अनुदान प्राप्त गर्न योग्य जोखिमका लाभग्राही पहिचान गर्न जिम्मा दिइएको उहाँले बताउनुभयो ।
प्राधिकरणले ‘भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि’अनुसार निजी आवास पुनर्निर्माणका लागि तीन किस्तामा तीन लाख रुपियाँ र प्रबलीकरणका लागि एक लाख रुपियाँ दिँदै आएको छ ।
प्राधिकरणका अनुसार हालसम्म पाँच लाख ५२ हजार १५७ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिइसकेका छन् ।