सिराज खान\गोविन्द शर्मा
नेपालगञ्ज, बैशाख ३० गते । भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरुमध्येकै बढीमा कोरोना सङ्क्रमण देखिन थालेको र अहिले पनि लुकिछिपी भित्रिने क्रम नरोकिएकोले कसैलाई पनि छिर्न नदिन बाँकेको सीमानामा थप कडाइ शुरु गरिएको छ ।
लकडाउनका कारण सीमा क्षेत्र सिल हुँदा मुख्य नाकाको आवागमन ठप्प भएपनि अनधिकृत बाटाहरूबाट कोही पनि आवतजावत गर्न नपाउन भनेर सीमानामा सुरक्षाकर्मी बढाएर थप कडाइ शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।
उहाँले विशेष गरी नरैनापुर, खजुरा र जानकी गाउँपालिका क्षेत्रबाट लुकिछिपी भित्रिने क्रम नरोकिएको गुनासो बारम्बार आएपछि सो क्षेत्रमा अत्यधिक कडाइ शुरु गरिएको बताउनुभयो ।
सीमा सिल भएको अवस्थामा पनि अवैध रुपमा भित्रिने काम भैरहेको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको बाँकेको सुरक्षा समितिले सीमा क्षेत्रको स्थललगत अनुगमन पनि शुरु गरेको छ ।
विभिन्न सुरक्षा निकायका प्रमुखहरू सम्मिलित सुरक्षा समितिले सोमबार बाँकेको खजुरा गाउपालिका र जानकी गाउपालिकासँग सीमा क्षेत्र जोडिएका विभिन्न स्थानको स्थलगत अवलोकन गरेको प्रजिअ खड्काले बताउनुभयो ।
सीमा क्षेत्रबाट कुनै पनि आवगमन हुन नदिने कुरामा चनाखो रहन ड्यूटीमा रहेका सुरक्षाकर्मीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
भारतबाट आएर क्वारेन्टाइनमा नबसी सीधै घरमा बसेकाहरूबाटै कोरोना फैलिएको पाइएपछि सीमानामा कडाइ शुरु गरिएको र अझै कडा पार्दै लैजाने योजना रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । भारतबाट आएका एकजनाबाट शुरु भएको कोरोनाको सङ्क्रमण फैलिएर अहिले नेपालगञ्जका २४ जनामा देखिएको छ ।
पहिलो सङ्क्रमितको दोस्रो परिक्षण पनि पोजिटिभ
बाँके जिल्लाको पहिलो कोरोना सङ्क्रमित व्यक्तिकाे दोस्रो परीक्षण पनि पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । पहिलो परीक्षणमा सङ्क्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको हो । जिल्लामा रहेका उनीसहित सङ्क्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा. पारस खड्काले जानकारी दिनुभयो । नेपालगञ्जमा सात वर्षीयदेखि ६० वर्षीय सम्मलाई कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्यकर्मीलाई धम्की दिएपछि सुरक्षा माग
खजुरा गाउँपालिकाको स्वास्थ्य चौकीका कर्मचारीले उनीहरूलाई ज्यान मार्ने धम्की दिइएको जनाउँदै सुरक्षाको माग गर्दै प्रहरीलाई उजुरी दिएका छन् । गाउँपालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरूलाई स्थानीय रफी भाटसहितको समूहले कार्यालयमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरूले प्रहरीसँग सुरक्षा मागेका हुन् ।
स्वास्थ्य चौकी इन्चार्ज सुदीप पौडेलले रफी भाटले कार्यालयमा आइ कर्मचारीमाथि अभद्र व्यवहार गर्दै धम्की दिएको बताउनुभयो ।
चौकी ईन्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएका हुन् ।