बाग्मती प्रदेश व्यूरो
हेटौँडा, जेठ १२ गते । बाग्मती प्रदेशको १३ जिल्लामध्ये आठ जिल्लामा मकैबालीमा अमेरिकन फौजी कीराको प्रकोप फैलिएको पाइएको छ । प्रदेशको काठमाडौँ उपत्यकाको काठमाडौँ, भक्तपुर, ललितपुर तथा दोलखा र रसुवाबाहेक सबै जिल्लामा मकैबालीमा अमेरिकन फौजी कीराको प्रकोप फैलिएको हो । अमेरिकन फौजी कीराको प्रकोपका कारण कृषकले लगाएको मकैबालीमा क्षति पुगेको छ ।
बाग्मती प्रदेशको कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठ प्रदेशका आठ जिल्लामा मकैबालीमा फौजी कीरा देखा परेको बताउँदै गर्मी ठाउँमा बढी क्षति पु¥याउने बताउनुहुन्छ । गत वर्ष प्रदेशका छ जिल्लामा मात्र देखा परेको भन्दै पानी पर्ने क्रम सुरु भएकोले क्रमशः कम हुँदै जाने सम्भावना रहेको छ । गत वर्ष चितवन जिल्लाको रत्ननगर, कालिका, खैरेनी राप्ती, भरतपुरलगायत स्थानीय तहमा अमेरिकन फौजी कीरा देखा परेको थियो । यस्तै मकवानपुरको बकैयाँ, मनहरी र मकवानपुरगढी गाउँपालिका, काभ्रेपलान्चोकको नमोबुद्ध, पाँचखाल, महाभारत, सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची र चौतारा, सिन्धुलीको कमलामाइ, सुनकोशी, गोल्जाजोर फिङ्कल र तिनपाटनलगायतका स्थानीय तहमा फौजी कीरा मकैबालीमा लागेको थियो ।
निर्देशनालयका बाली संरक्षण अधिकृत श्रेष्ठका अनुसार प्रदेशभरमा ४२३ हेक्टर मकैबालीमा फौजी कीराले क्षति पु-याएको थियो । कृषकमा फौजी कीराप्रतिको सचेतता, मकै खतेबारीमा नियमित अनुगमन र निरीक्षण गरी आवश्यक उपचार नै फौजी कीराबाट बाली जोगाउने उपाय हो उहाँले भन्नुभयो, धान जमरा लागेपछि फौजी कीरा लागेमा नियन्त्रण बाहिर जान्छ । फौजी कीराले अन्नबालीसँगै तरकारी बालीमा समेत क्षति पु-याउने अध्ययनले देखाएको छ ।
मकै बालीसँगै फौजी कीराले जुनेलो, धान, गहुँ, कोदो, उखु, घाँसे बालीहरू, काउली वर्गका तरकारी बालीहरू, तेलहन बालीहरू, काँक्रोलगायतका लहरे तरकारी बाली, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलु बालीमा क्षति पु-याउन सक्ने जनाइएको छ ।
फौजी कीराले ३५३ प्रजातिका बाली बिरुवामा नोक्सानी पु-याउनसक्ने अध्ययनबाट देखिएको श्रेष्ठले बताउनुभयो । यो वर्ष पनि मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकासहित मकवानपुरगढी, बकैया, मनहरी, बाग्मतीलगायतका स्थानीय तहहरूमा लगाइएको मकैबालीमा फौजी कीराले क्षति पु-याएको छ । मकैबालीमा फौजी कीराले क्षति पु-याउन थालेपछि कतिपय स्थानीय तहले निःशुल्क विषादीको व्यवस्थासँगै सचेतता अपनाउन आग्रह गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका संयोजक चन्द्रकान्त चौधरीले मकै बालीमा फौजी कीरा लागेपछि निःशुल्क विषादीको व्यवस्था गरिएको जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २ को बाँसपानी, वडा नम्बर ३ को धमिलेपानीलगायत स्थानमा लगाएको ३० विगाहा क्षेत्रफलभन्दा बढीमा मकै बालीमा फौजी कीरा र गबारो लागेको छ । अगौटेभन्दा पछि लगाइएको मकैबालीमा कीराको प्रकोप देखिएको हो ।
किसानलाई कीरा नियन्त्रणको लागि खेतबारीको नियमित अवलोकन र क्षतिको आङ्कलन गर्ने गर्नुपर्ने भन्दै कृषि शाखा संयोजक चौधरीले ईमामेक्टिन बेन्जोएट पाँच ग्राम १५ लिटर पानीमा मिसाई स्प्रे गर्ने वा स्पाइनोसेड एक मिली तीन लिटर पानीमा मिसाई स्प्रे गर्न सुझाउनुभयो ।