ओखलढुङ्गा, जेठ २३ गते । प्रदेश नं. १ का १४ जिल्लामध्ये पहिलो पटक वैशाख पहिलो साता उदयपुरमा देखिएको कोरोना सङ्क्रमण हाल १२ जिल्लामा फैलिएको छ । प्रदेश १ को पूर्वको इलाम र पश्चिमकाे ओखलढुङ्गा दुई जिल्लाबाहेक अन्य जिल्लामा कोरोना सङ्क्रमित फेला परिसकेका छन् ।
उदयपुर, झापा, सुनसरी, धनकुटा, मोरङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा सङ्क्रमित पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । बुधबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरका व्यक्तिमा सङ्क्रमण देखिएको थियो । प्रदेशमा भेटिएका अधिकांश सङ्क्रमितहरू भारतबाट आएका बताइएको छ ।
बुधबार ताप्लेजुङका तीन, पाँचथरका एक, सुनसरीका ८, मोरङ र झापाका दुई/दुई तथा धनकुटा र तेह्रथुमका एक/एक जनामा कोरोना देखिएको थियो । बिहीबार १६ जना कोरोना सङ्क्रमित थपिएपछि प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २०१ पुगेको हो । विहीबार प्रदेश १ को झापा भद्रपुर नगरपालिकामा तीन, कचनकवल गाउँपालिकामा दुइ, खोटाङको हलेसी नगरपालिकामा तीन, सुनसरीको भोक्राहा गाउँपालिकामा दुई, गढी गाउँपालिकामा दुई, बराह क्षेत्र नगरपालिकामा तीन र मोरङको सुन्दरहरैचा नगरपालिकामा एक गरी १६ जनामा कोरोना पुष्टि भएसँगै प्रदेशभरिका १२ जिल्लामा सङ्क्रमण फैलिएको छ । दैनिक कोरोना सङ्क्रमित बढिरहे पनि कोरोनालाई जिती अस्पतालबाट घर फर्केकाहरूको भने बढी चर्चा नभएको देखिन्छ । प्रदेशभरि हालसम्म ७८ जना कोरोना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । पछिल्लो समय कोशी अस्पताल विराटनगर कोभिड १९ उपचार केन्द्रबाट बिहीबार २७ जना र बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान, धरानबाट तीन जना गरी ३० जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
यो सँगै प्रदेशमा कोरोनामुक्त भएर घर फर्कनेको सङ्ख्या ७८ पुगेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।
बिहीबार विराटनगरबाट उदयुरका तीन, झापाका सात, मोरङका छ, सुनसरीका चार, धनकुटाका चार, खोटाङका एक र सप्तरीका दुई जना डिस्चार्ज भएका हुन् । कोरोना जित्नेमा चार जना महिला र २३ जना पुरुष छन् भने बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान, धरानबाट झापाका तीन जना रहेका छन् । हालसम्म प्रदेश १ का १४ मध्ये १२ जिल्लामा सङ्क्रमित फेला परिसकेका छन् ।