लोकेन्द्रप्रसाद जोशी
दार्चुला, जेठ २९ गते । कोरोना सङ्क्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै दार्चुलाका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । बिहिबार जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।
जिल्ला समन्वय समिति र नौ वटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा बसेको सिसिएमसी बैठकमा जिल्लामा जति सक्दो छिटो कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने गरी काम अघि बढाउने सहमति भएको छ । धनगढीमा रहेको एकमात्र प्रयोगशालाको भर पर्दा पीसीआर रिपोर्ट आउन हप्तौ समय लाग्ने देखिएपछि मेसिन खरिद गर्ने निर्णय गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।
मेसिन खरिदका लागि दार्चुलाका नौ वटै स्थानीय तहले समान रकम व्यहोर्ने सहमति भएको छ । पीसीआर मेसिन खरिदको लागि प्रयोगशाला स्थापनाको अध्ययन गर्न जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ।
उक्त समितिले जिल्लामा पीसीआर परीक्षण गर्ने मेसिन खरिद गर्न आवश्यक खर्च, जनशक्ति, भौतिक संरचनालगायत व्यवस्थापकीय पक्षका विषयमा विज्ञसँग छलफल गरी जति सक्दो छिटो प्रतिवेदन तयार पार्ने निर्णय गरिएको समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले बताउनुभयो ।
प्रतिवेदनको सुझावका आधारमा मेसिन खरिद प्रक्रिया अघि बढाउने सहमति भएको छ । यो हप्तामात्रै भारतबाट आएका ५० जनामा आरडीटी रिपोर्ट पोजिटिभ आएपनि पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना सङ्कलनसमेत हुन नसकेकोले जिल्लामै प्रयोगशाला स्थापना गरेर परीक्षणको गति बढाउने जनाइएको छ ।
सङ्क्रमित फेला परेपछि लकडाउनमा कडाइ
दार्चुलामा भारतबाट आएका १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पहिलो संक्रमित महाकाली नगरपालिका—६ का २१ वर्षीय युवक कोरोना जितेर मंगलबार घर फर्किएपनि ११ जनाको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
शैल्यशिखर नगरपालिकाका आठ जना, महाकाली नगरपालिका र लेकम गाउँपालिकामा दुई /दुई जनामा कोरोना सङ्क्रमण पुष्टl भएपछि लकडाउनमा कडाइ गरिएको छ । शैल्यशिखर नगरपालिका नगरकार्यपालिकाको बैठकबाट अर्को निर्णय नहुँदासम्मका लागि गोकुलेश्वर बजार सिल गर्ने निर्णय भएपछि कार्यान्वयन नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
दार्चुलामा दुई हजार चार सय ५० बढीको आरडिटी परीक्षण गरिएकोमा यो हप्ता ६ वटा स्थानीय तहमा ५० जनाको आरडीटी रिपाेर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सात सय ९२ जनाको पीसीआर विधिबाट थ्रोट स्वाबको नमूना परीक्षण गरीएकोमा १२ जनाको पोजिटिभ आएको पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र बाँकी ७७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, दार्चुलाका कोरोना भाइरस फोकल पर्सन वीरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
भारतबाट फर्किएका नागरिकमा आरडीटी पोजिटिभ देखिन थालेपछि गाउँघरमा कोरोनाको जोखिम बढ्दैगएको छ । जिल्ला बाहिरबाट फर्किएकाहरूमा एन्टिबडी पोजिटिभ देखिएपछि अपिहिमाल गाउँपालिका क्षेत्र सिल गर्न सीमा क्षेत्रमा स्वयमसेवक परिचालन गरिएको छ ।