logo
२०८२ भाद्र २२ आईतवार

  सलहबारे वैज्ञानिक पक्ष  



कसरी थाहा हुन्छ, कता जाँदैछन् र कति सङ्ख्यामा छन् ?

राष्ट्रिय |


कसरी थाहा हुन्छ, कता जाँदैछन् र कति सङ्ख्यामा छन् ?


केशवराज पौडेल
काठमाडौँ, असार १७ गते । नेपालमा देखिएका सलहका अब पाकिस्तान वा राजस्थान फर्कँदैछन् भन्ने वैज्ञानिकको भनाइलाई लिएर सामाजिक सञ्जालहरूमा केही आलोचना भएकाे छ । त्यस्तै कति सङ्ख्यामा सलह नेपाल आए भन्ने विषयमा पनि आम मानिसले कसरी गणना सम्भव छ ? भनेर चासो व्यक्त गरेको पाइन्छ ।

कनुैपनि पशुपन्छी वा कीटपतङ्गको बानी व्यवहारको अध्ययन पनि विज्ञानको एउटा पाटो हो । जस्तो मौसमको अनुमान वैज्ञानिक आधारमा हुन्छ त्यस्तै कीरा फट्याङ्ग्राको पनि बानी व्यवहार त्यस्तै वैज्ञानिक आधारमा अनुमान गरिने विज्ञहरू बताउँछन् ।

फट्याङ्ग्रा समूहमा हिँड्न रमाउँछ तर त्यतिका ठूलो सङ्ख्यालाई कसले नेतृत्व गर्छ ? र कसरी लामो दूरी पार गरेर एक ठाउँबाट अर्काे ठाउँमा सहजै पुग्छन् ? त्यतिमात्रै हैन, सलहको बथान यति नै सङ्ख्यामा छ भन्ने अनुमान कसरी लगाउन सकिन्छ ? सलह आफ्नो प्राकृतिक बासस्थानमा कसरी फर्कन्छन्यो ?  सबै अध्ययनका आधारमा तय हुन्छ ।

‘फट्याङ्ग्रा जातिको झुण्डमा मौरीको जस्तो रानी हुँदैन तर तिनीहरू थ्रोलोलन आम्र गन्धबाट निर्देशित हुन्छन्, सोही गन्ध पन्छाउँदै लामो यात्रा तय गर्छन्’ कृषि तथा पशुपन्छी मन्त्रालयका बाली संरक्षक रामकृष्ण सुवेदी भन्नुहुन्छ, ‘त्यसो त एक झुण्डको गन्ध अर्काे झुण्डसँग मिल्दोजुल्दो हुने भएकाले एक आपसमा उनीहरू मिसिन पनि सक्छन्।’

‘नेपालमा मात्रै हैन विश्वमै सलह कतिको सङ्ख्यामा उडेको छ भनेर थाहा पाउन अनुमान नै भर हो तर त्यो अनुमान उनीहरूको झुण्ड कत्रो आकारमा उडेको छ त्यसमा भर पर्छ’ सुवेदी थप्नुहुन्छ, ‘हामीले नेपालमा पनि सलह उडेको आकारको आधारमा सङ्ख्याको जानकारी दिएका हौँ ।’

एक वर्गकिलोमिटरमा एक करोडको हाराहारीमा सहल उड्ने गरेका हुन्छन् तर नेपालमा विभिन्न ठाँउबाट प्रवेश गरेका सलह एक वर्ग किलोमिटरभन्दा निक्कै सानो र पातलो आकारको रहेकाले नेपालमा १५ लाखसम्मको सङ्ख्यामा सलह प्रवेश गरेको अनुमान आफूहरूले गरेको अधिकृत सुवेदीले स्पष्ट पार्नुभयो ।

‘साना आकारका जीवहरूको उड्ने वर्गमिटरको आधारमा सङ्ख्याको पहिचान गर्ने विश्वव्यापी मान्यता भएकाले नेपालमा समेत सोही अनुसार हामीहरूले सङ्ख्या मापन गरेका छाैँ । भ्रममा कोही नर्पनुस् सोही आधारमा सङ्ख्याको यकिन गरेका हौँ ।’ सुवेदीले थप्नुभयो ।

नेपालका विभिन्न जिल्लाहरूमा प्रवेश गरेको सलहको सङ्ख्या पाँचदेखि १५ लाखसम्मको रहेको कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्क छ । झुण्डको सङ्ख्याको आधारमा समेत त्यसले उडान भर्ने समयसमेत थाहा पाउने भएकाले नेपालमा आएको झुण्डले लामो समयको उडान नभरेकाले सङ्ख्या कम भएको उहाँले बताउनुभयो ।

विज्ञ सुवेदीका अनुसार सलह मात्रै हैन सबै किसिमका पशुपन्छीहरू आफ्नो प्राकृतिक बासस्थानमा फर्कन चाहन्छन् । तर सलह भने हावाको वेगमा आधारित रहेर एक ठाउँबाट अर्काे ठाउँमा जान चाहन्छ । अहिलेको हावाको वेग पूर्वबाट पश्चिमतिर जाने भएकाले भारतको राजस्थानतिर यिनीहरू फर्कन खोजिरहेका हुन् । तर हावाको बहाव विपरीत भएमा यिनीहरू फरक बाटोमा समेत जान सक्छन् ।

नेपालमा भित्रिएका सलहमध्ये अधिकांश वयस्क भएकाले यिनीहरूले प्रजननका लागि आफ्नो प्राकृतिक बासस्थानको खोजी गरेको सुवेदी बताउनुहुन्छ । ‘यिनीहरूले बालुवामा बासस्थान बनाउने र प्रजनन गर्ने भएकाेले नेपाल प्रतिकूल छ’ उहाँले भन्नुभयो, ‘नेपालमा रहेको बालुवामा पाङ्गो माटो, ढुङ्गा भएकाले यहाँ उत्पादन गर्न सक्दैनन् ।’ सुवेदीले भन्नुभयो । सहलहरू हावाको बहाव मिलेमा सीधै मरुभूमितर्फ आकर्षित हुनेसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

एउटा सहलले एक पटकमा १५० ओटा फूल पार्ने र जीवनकालमा १५ सय वटासमेत फूल पार्ने भएकाले अवस्था अनुकूल रहेमा सङ्ख्यामा व्यापक वृद्धि हुने उहाँले बताउनुभयो ।
शनिबार नेपाल प्रवेश गरेको सलह ३० भन्दा धेरै जिल्लामा देखिएपनि दाङ, प्यूठान, मकवानपुर, चितवन र अर्घाखाची जिल्लामा कृषि बालीमा प्रवेश गरेर असर पारेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?