logo
२०८१ मंसिर १५ शनिवार



कोरोनाबाट गोरखा र रुपन्देहीका दुई जनाको मृत्यु, मृतक सङ्ख्या ३४ पुग्यो

राष्ट्रिय |
फिचर |


कोरोनाबाट गोरखा र रुपन्देहीका दुई जनाको मृत्यु, मृतक सङ्ख्या ३४ पुग्यो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २० गते । कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा शनिबार थप दुईजना सङ्क्रमितको मृत्युको पुष्टि गरेको हो । 
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देही र गोरखाका दुईजनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाका पालुङटारका एक पुरुषको शनिबार बिहान मृत्यु भएको बताउनुभयो । असार १७ गते कतारबाट फर्किएका उहाँको उपचारको लागि भर्ना गराइएकोमा असार २० गते बिहान मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी, रुपन्देही देवदहका एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएकोमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । क्षयरोगका बिरामी ७५ वर्षीय पुरुष उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँमा असार १८ गते कोरोना सङक्रमणको पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमित थप दुईजनाको मृत्यु भएसँगै नेपालमा भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?