लक्की चौधरी
काठमाडौँ, साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक नेता पुष्पलाल श्रेष्ठको आज ४२ औं स्मृति दिवसको अवसरमा नेताहरूले उहाँलाई स्मरण गर्नुभएको छ । नेपाली जनताको मुक्तिका लागि आजीवन लड्नुभएका पुष्पलालप्रति उहाँहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
नेकपाका वरिष्ठ नेता तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाललले सामन्तवाद, निरंकुशताविरुद्ध आजीवन लडाइँ लड्नुभएका संस्थापक नेता पुष्पलालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँको स्मृति दिवसको अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै नेता नेपालले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
पुष्पलालको नेतृत्वमा पाँच जनाले वि.सं. २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी आज नेपाली जनताको आशा, भराेसा र विश्वासको केन्द्रका रुपमा स्थापित भएको नेता नेपालले चर्चा गर्नुभएको छ । “निरंकुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रीकृत राज्यसत्ताको ठाउँमा संघीय प्रणाली समावेशी लोकतन्त्रजस्ता विषयहरूले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न हामी सफल भएका छौँ” नेता नेपालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
पुष्पलालले स्थापना गरेका पदचिन्हमा दृढतापूर्वक हिँड्न सकेकै कारण नेपालमा ऐतिहासिक परिवर्तन सम्भव भएको चर्चा गर्दै नेता नेपालले अगाडि थप्नुभएको छ, “कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावबाट जोगाउँदै कमरेड पुष्पलालले स्थापित गरेका मानकहरू हाम्रा लागि सधैँ मार्गदर्शनका रुपमा छन् ।”
दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर संस्थापक नेता पुष्पलालको सपनालाई साकार पारिएको बताउँदै नेता नेपालले भन्नुभएको छ, “संस्थापक महासचिव कमरेड पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा हामीले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्धतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ ।”
‘कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’ वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनुपर्छ ।’ नेता नेपालले विज्ञप्तिमा भन्नुभएको छ । अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावना कसैले राख्न नहुने वरिष्ठ नेता नेपालले भन्नुभएको छ ।
अर्का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालको स्मृति दिवसको अवसरमा उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । दिवसको अवसरमा आज विज्ञप्ति जारी गर्दै नेता खनालले भन्नुभएको छ, “पुष्पलालकै मार्गदर्शनबाट अघि बढेर आज हामीले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरेका छौँ, दुई ठूलो कम्युनिष्ट पार्टीलाई एक गरेका छौँ र कम्युनिष्ट पार्टीलाई सबैभन्दा ठूलो पार्टीकोरुपमा स्थापित गरेका छौँ ।”
पार्टी जति ठूलो भएको छ त्यति नै चुनौती थपिँदैगएको चर्चा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टीलाई विधि, नीति र पद्धतिमा चलाउनुको विकल्प नरहेको बताउनुभएको छ । पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाई मुलुकमा समाजवाद ल्याउन सकेमात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले चर्चा गर्नुभएको छ ।
त्यसै गरी, नेकपाका अन्य नेताहरूले सामाजिक सञ्जालमार्फत पुष्पलाललाई श्रद्धाञ्जलि तथा उहाँको योगदानको चर्चा गर्नुभएको छ ।