मधुसुधन तिमल्सिना
काभ्रे, साउन ११ गते । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कानूनी व्यवस्थाभन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ ।
आइतबार बनेपा नगरपालिका वडा न ७ मा पुर्वाधार क्षेत्र विकास कोषमार्फत निर्मित यात्रु हिँड्ने सडकपेटीको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले दोषी प्रमाणित भए आफू सजाय भोग्न तयार रहेको बताउनुभयो । “म दोषी भए कारबाही भोग्नुपर्छ । शक्तिको आडमा म अडिन मिल्दैन” उहाँले भन्नुभयो ।
'म पदमा भएका बेला ममाथि प्रश्न उठेपछि मैले मन्त्रीबाट राजीनामा दिएर छानवबिन गर भने । भन्नु नि पर्छ । गरिनु पनि पर्छ । किनेभने हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । लोकतान्त्रिक व्यवस्थामा कानूनी शासनभन्दा माथि कोही हुँदैन । न प्रधानमन्त्री, न राष्ट्रपति', उहाँले भन्नुभयो, हिजो राजाहरूलाई मात्र कानून लाग्दैनथ्यो । त्यसैले गणतन्त्रण ल्याएका हौँ । उहाँले राज्यको सम्पत्ति आफूलाई आवश्यक नभएको बताउँदै आफू लुटेराको संस्कृतिबाट बाहिर निस्केको मान्छे भएको बताउनुभयो ।
कार्यक्रममा उहाँले जतिसुकै आफूमाथि आरोप लागे पनि सेक्युरिटी प्रिन्टिङ्ग प्रेस, मदन भण्डारी विश्वविद्यालय, प्रतिरक्षा विश्वविद्यालय, एयरपोर्ट, पाँचखाल खानीपानी आयोजना, एकीकृत खानेपानी आयोजना, पुण्यमाता करिडोर, स्मार्ट सिटीलगायत आयोजना काभ्रे जिल्लामा ल्याउन सफल भएको बताउनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई तपाईंहरू जाँगर चलाउनुहोस्, म विकासमा साथ दिन्छु भन्नुभयो ।
बनेपाको चारदोबाटोबाट गोदामचोक हुँदै बनेपा बसपार्कसम्म करिब एक किलोमिटर सडकपेटी र ढल सुधार गरिएको वडा न ७ का अध्यक्ष वर्ण शक्यले जानकारी दिनुभयो । पूर्वाधार क्षेत्र विकास कोषमार्फत आएको ३९ लाख ३० हजार रुपियाँबाट उक्त सडक पेटी र ढल सुधार गरिएको थियो । बन्दाबन्दीका बीचमा उक्त काम भएको थियो । सडकपेटी नहुँदा दुई जना पैदल यात्रुको मृत्यु भएको उपभोक्ता समितिका अध्यक्ष राजन शक्यले जानकारी दिनुभयो ।