लक्की चाैधरी
काठमाडौँ, भदौ १७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । त्यसको तयारी छलफलका लागि दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल जारी छ । सचिवालय बैठकमा मुख्यतः कार्यदलको प्रतिवेदन तथा राष्ट्रिय सभा सदस्य विषयमा छलफल हुने बताइएको छ । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालकाअनुसार बिहीबार बिहान ११ बजे सचिवालय बैठक बालुवाटारमा बस्दैछ । ‘अहिलेसम्म बैठक स्थगित भएको खबर आएको छैन, त्यसैले बैठक बस्ने निश्चित छ’ उहाँले भन्नुभयो ।
यसअघि गत शनिबार १३ गतेका लागि सचिवालय बैठक तय भएको थियो । तर केही नेताहरू आइसोलेसनमा बस्नु भएपछि बैठक बिहीबारका लागि सारिएको थियो । वरिष्ठ नेता खनालकाअनुसार सचिवालय बैठकको मुख्य एजेण्डा कार्यदलले बुझाएको प्रतिवेदन र राष्ट्रिय सभा सदस्यको टुङ्गो लगाउनेछ । हालका अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाको समयावधि २० गते सकिँदैछ । सो ठाउँमा पार्टीको तर्फबाट कसलाई सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साँझ ५ः३० बजेदेखि बालुवाटारमा बैठक शुरू भएकाे थियाे । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षबीच बिहीबारको सचिवालय बैठकको तयारी विषयमा छलफल केन्द्रित रहेको छ ।