गोरखापत्र समाचारदाता
कठमाडौँ, असोज २२ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समाजमा बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना न्युनिकरणका लागि सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बिहीबार आयोजित ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा मन्त्री गुरुङले समाजमा भइरहेको बलात्कारको घटनाले लज्जाबोध गराएको उल्लेख गर्दै त्यस्ता जघन्य अपराधिक घटना हुनै नदिन राष्ट्रिय सामाजिक जागरण अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।
उहाँले बैठकमा सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाई हुन नदिन, अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालयबीच सघन छलफल भईरहेको बताउनुभयो ।
त्यस्ता अपराधिक घटना हुन नदिन स्थानीय जनप्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुलाई पनि परिचालन गरेर अघि बढने मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले सो अभियानका लागि कार्ययोजना बनाउने काम तत्काल सुरु गर्ने उल्लेख गर्दै आवश्यक सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाजका अगुवाहरु तथा सामाजिक सङ्घ, संस्थालाई आग्रह गर्नु भयो ।
उहाँले कोरोनाको महामारीबीच पनि देशमा झनै हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको स्विकार गर्दै त्यसलाई नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार एकीकृत कार्ययोजनाका साथ अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ‘कोभिड–१९ सँगै सामाजिक अपराधका घटनाहरु बढेर गएको पाइएको छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यस्ता अपराधिक घटना हुन नदिन तीन वटै तहका सरकारले एकीकृत कार्ययोजना बनाई तत्काल लागू गर्नेछ ।’
सो बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गरेर हिंसाको न्युनिकरणका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।