नगेन्द्र सापकोटा
काठमाडौँ, कात्तिक २७ गते । स्थानीय तहभित्रको दिगो, एकीकृत र ठूला पूर्वाधार निर्माणका लागि स्थानीय तहहरूले अन्तरपालिका सहकार्य गर्न थालेका छन् । ससाना पुँजीलाई एकीकृत गरी सामूहिक योजना सञ्चालन गर्दै स्थानीय तहहरूले अन्तरपालिका सहकार्य सुरु गर्न थालेपछि विकासमा आयाम थपिने भएको छ ।
अन्तरपालिका सहकार्यले दुई वा तीन पालिका जोड्ने योजना प्रभावकारी रूपमा सञ्चालन गर्ने, विपद् व्यवस्थापन, फोहोर व्यवस्थापन, खानेपानीको वितरण र उत्पादन प्रक्रियामा स्थानीय तहले अन्तरपालिका सहकार्य र समन्वय गर्न थालेका हुन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जूले भन्नुभयो “अन्तरपालिका सहकार्य र समन्वयले दिगो विकासको आधार तयार भएको छ ।” अन्तरपालिका सहकार्यबाटै धुलिखेल, बनेपा र पनौती नगरपालिकाद्वारा सञ्चालित काभ्रे खानेपानी आयोजना अन्तरपालिका सहकार्य र समन्वयको आधार भएको उहाँले जानकारी दिनुभयो ।
अन्तरपालिका सहकार्य मोडलको अवलम्बनले सामूहिक लगानीलाई प्रोत्साहन गर्दै एकीकृत पुँजी निर्माणमा सहयोग पुगेको, साधन स्रोत र पूर्वाधारमा दोहोरो लागत र कतिपय व्ययभार घट्ने भएकाले स्थानीय तहहरूले अन्तरपालिकाबीच सहकार्य र योजना सञ्चालन गर्न थालेका हुन् ।
यसका साथै बनेपा, धुलिखेल र पनौती जस्तै अन्तरपालिका सहकार्य गर्ने स्थानीय तहमा सिद्धार्थ राजमार्गमा अवस्थित पालिकाहरूबीच सिद्धार्थ आर्थिक करिडोर निर्माण, काठमाडौँ उपत्यकामा उपत्यका नगरपालिका फोरम, ललितपुरका दक्षिण क्षेत्रका तीनवटा गाउँपालिकाद्वारा अध्यक्ष फोरम निर्माण गरी एकीकृत रूपमा अन्तरपालिका निर्माण गर्ने कार्य सुरु भएको छ ।
काठमाडौँं महानगरपालिकाद्वारा प्रवद्र्धन गरिएको नगर साझेदारी कार्यक्रमले काठमाडौँका १० वटै नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण भएका छन् । स्थानीय शासनविज्ञ प्रमोद अर्यालले कतिपय स्थानीय तहले एकीकृत विकासका लागि अन्तरपालिका योजना कार्यान्वयनमा ल्याए पनि अन्तरपालिकाको ठोस नीति, कार्यक्रम र मोडल बनाई कार्यान्वयन गर्ने अवस्थामा स्थानीय तह पुगी नसकेको बताउनुभयो ।
“अन्तरपालिका साझेदारीले स्थानीय तहको पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सहयोग र अन्तरपालिका जोड्ने योजना सञ्चालनमा सहजता हुन्छ ।” उहाँले भन्नुभयो, “स्थानीय तहहरूले अन्तरपालिका सहकार्य र समन्वय गर्ने दिगो विकासको आधार तयार गर्छ यो कुरा स्थानीय तहका जनप्रतिनिधिलाई बुझाउनु पर्ने अवस्था छ ।”
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्तरपालिका उपत्यका नगरपालिका फोरम यसकै सहकार्यका लागि निर्माण भएको बताउनुभयो । कोरोना रोकथाम र नियन्त्रणमा मात्र नभई काठमाडौँ उपत्यकाभित्र भएका १८ वटै नगरपालिकाको संस्कृति संरक्षण, फोहोरमैला व्यवस्थापन, पर्यटन पूर्वाधार निर्माणका लागि एकीकृत विकास गर्ने उद्देश्यले फोरम निर्माण भएको र अहिले सोही अनुसार काम प्रारम्भ भएको उहाँले जानकारी दिनुभयो ।