नगेन्द्र सापकोटा
काठमाडौँ, मङ्सिर १९ गते । काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका साझा समस्यालाई सामूहिक रूपमा समाधान गरिने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकालाई एउटा एकाइ मान्दै साझा समस्यालाई सामूहिक रूपमा समाधान गरिनेभएको हो ।
फोहोरमैला व्यवस्थापन, यातायात सञ्चालन, प्रदूषण नियन्त्रण, शान्तिसुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पर्यटन विकास, प्रविधि तथा पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन, नदी खोला संरक्षण र करिडोर लगायतका विषयलाई संयुक्त रूपमा समाधान गरिने अवधारणा अगाडि सारिएको हो ।
उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने योजनाको तयारी गरिएको छ ।” उहाँका अनुसार उपत्यका सङ्घीय राजधानी सहर भएको र उपत्यकालाई व्यवस्थित र सौन्दर्ययुक्त सहर निर्माण गर्नका लागि नगरपालिका फोरमले योजना बनाएको हो । उपत्यकावासीलाई सहज र सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न, विद्यमान समस्याको संयुक्त रूपमा मिलेर समाधान यस खालको प्रयास गरिएको उहाँको भनाइ छ । उपत्यकाका नगरपालिका प्रशासनिक रूपमा फरक भए पनि भौगोलिक रूपमा समानता र एकापसमा जोडिने भएकाले समस्या समान प्रकृतिको रहेको जनाइएको छ । श्रेष्ठले भन्नुभयो, “अन्तरपालिका जोड्ने कतिपय सडक एउटा नगरपालिकाको प्रवेश बिन्दु भयो भने सोही सडक अर्को नगरपालिकाको अन्तिम बिन्दु छ । उक्त सडकको मापदण्ड फरक हुँदा कार्यान्वयनमा समस्या भएको छ, यसलाई साझा अवधारणा बनाएर कार्यान्वयनको तयारीमा लागेका छौँ ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकाको एकीकृत विकासकै लागि उपत्यका नगरपालिका फोरम निर्माण गरिएको बताउनुभयो ।
विकासे निकायलाई फोरममा
उपत्यकाको एकीकृत विकासका लागि उपत्यकामा भएका कतिपय कार्यालयले बाधा सिर्जना गरेकाले उक्त कार्यालयलाई नगरपालिका फोरम अन्तर्गत राख्ने गरी सरकारले आवश्यक कानुनको व्यवस्था गर्नुपर्ने सुझाव फोरमले सरकारलाई दिएको छ ।
उपत्यकाको विकासका लागि उपत्यका विकास प्राधिकरण, ढल, खानेपानी, वन, सडकलगायतका कार्यालयले बाधा सिर्जना गरेका छन् भन्दै श्रेष्ठले भन्नुभयो, “उक्त निकाय विकासको साधक बन्नका लागि उपत्यका नगरपालिका फोरम वा जनप्रतिनिधि रहेको अर्को कुनै निकाय बनाएर सो अन्तर्गत ल्याउने गरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ ।”