logo
२०८१ बैशाख २० बिहीवार

  दृश्य समाचार  



मेलम्चीको पानी काठमाडौं पठाउन अन्तिम तयारी हुँदै

राष्ट्रिय |


मेलम्चीको पानी काठमाडौं पठाउन अन्तिम तयारी हुँदै


मुकुन्द गैरे/दृश्यमा मनाेजरत्न शाही 
काठमाडौँ, चैत्र ३ गते । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन अन्तिम तयारी भइरहेको छ ।चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी सुन्दरीजलबाट प्रशोधन गरेर पठाउन गृहकार्य भइरहेको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिने भएको छ । उक्त अवधिमा परीक्षण सफल भएपछि स्थायी रुपमा पानी पठाउने गरी काम भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिएसँगै वितरण पनि हुनेछ ।

परीक्षणका रूपमा रहेको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीबाट पानी वितरण गरिने छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले सुन्दरीजल प्रशोधन केन्द्रबाट आएको पानी वितरणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको केही दिन अघि गोरखापत्रलाई जानकारी दिनुभएको थियो ।

पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौँ र ललितपुरका चक्रपथभित्रका एक लाख दस हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आयोजनाको छ । दोस्रो चरणअन्तर्गत भक्तपुरसहित काठमाडौँ र ललितपुरको चक्रपथ बाहिरको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम रहेको निर्देशक श्रेष्ठले बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा मेलम्चीको जलप्रवाहको शुभारम्भ गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?