नगेन्द्र सापकोटा
काठमाडौँ, चैत २७ गते । राष्ट्रिय जनगणना–२०७८ पछि सबै वडाको प्रोफाइल बन्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले देशका ७५३ स्थानीय तहका छ हजार ७४२ वटा वडाकै प्रोफाइल निर्माण गर्ने गरी प्रश्नावली तयार गरेपछि वडा प्रोफाइलका लागि उपयोगी हुने भएको हो ।
मुलुक सङ्घीय व्यवस्थामा गइसकेपछि अहिले भएका सबै वडा नयाँ हुन् । वडाको पूर्ण रूपमा वास्तविक विवरणसहितको तथ्याङ्क अभावमा अहिले पनि विकास निर्माण, सेवा प्रवाह, नीति निर्माण र कार्यान्वयनमा असहजता कायम छ ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले विभागले सरकारको नीति निर्माणमा थप टेवा पु¥याउन सबै वडाको प्रोफाइल निर्माण हुने गरी प्रश्नावली तयार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित वडाले चाहेकै जस्तो प्रोफाइल निर्माण नभए पनि वडा कार्यालय सञ्चालनका लागि आवश्यक तथ्य र तथ्याङ्क आउनेछ । वडाको प्रोफाइल निर्माण भएपछि आगामी दिनमा वडाले कस्तो नीति र योजना बनाउँदा नागरिकमैत्री बन्नसक्छ भन्ने चित्रण गर्न सकिन्छ ।”
उहाँका अनुसार आगामी जनगणनाबाट वडाभित्रका जातजाति, धर्म, सेवा प्रवाह, राज्यले प्रदान गर्ने सुविधाको पहँुच, स्पष्ट रूपमा आउनेछ । बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, गाउँ, टोलमा जाने नागरिकले प्रयोग गर्ने साधन, वडामा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाका विवरण आउनेछ ।
वडामा राजस्व सङ्कलन हुने स्रोत, सेवासुविधा, तिनमा वडावासीको पहुँच, भौतिक पूर्वाधार, सामाजिक र आर्थिक अवस्था विपत् जोखिमलगायतका विषयले वडाको समग्र प्रोफाइल निर्माण हुने विभागको अनुमान छ ।
जनगणनाबाट सामाजिक, आर्थिक पूर्वाधार सेवा सुविधा, विपत् जोखिमको अवस्था, एक वर्षभित्रमा भएका प्राकृतिक वा विपत्को क्षतिको विवरण वन्यजन्तु र जङ्गली जनावरबाट भएको क्षति, वडाभित्र भएका कुन–कुन जातजाति वा सीमान्तकृत नागरिकको बसोबास भएको छ, तथ्याङ्क आउने गरी प्रश्नावली निर्माण गरिएको रेग्मीले बताउनुभयो ।
विभागले तयार गरेको प्रश्नावलीमा सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । सूचीकरण फाराम र मूल प्रश्नावलीले समग्र कृषि क्षेत्रको विवरण, बैङ्कमा किसानको पहुँचलगायतका विषय समेटिनेछन् । मूल प्रश्नावलीमा व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक, आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउने गरी प्रश्नावली तयार गरेको छ ।
व्यक्तिगत विवरण त घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट आउँछ नै, सो व्यक्तिगत विवरणलाई आधार मानेर वडाध्यक्षसँग उक्त क्रस चेकिङ गर्न वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको विभागले जनाएको छ ।
आगामी वर्ष हुने जनगणनाका लागि सरकारले ‘मेरो गणना मेरो सहभागिता’ नारा तय गरेको छ । २०७८ वैशाख २६ देखि जेठ १४ सम्म घरपरिवार सूचीकरण गर्ने, मूल गणना जेठ २५ देखि असार ८ सम्म हुनेछ । असार ८ गते जनगणना दिवसका रूपमा मनाइने गरी जनगणनाको कार्यतालिका सार्वजनिक गरिएको छ । जनगणनाका लागि सुपरिवेक्षक आठ हजार, गणक ३९ हजार र अन्य कर्मचारी पाँच हजार गरी करिब ५२ हजार कर्मचारी परिचालन हुँदै छन् ।