राममणि दाहाल
हेटौँडा, जेठ ६ गते । राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको लागि भएको मतदान जारी छ ।
दिउँसो १ः२० बजेसम्म कुल मतदाता ३४७ मध्ये ३३२ जनाले मतदाना गरिसक्नु भएको छ
हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा विहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । मतदान स्थलमा राष्ट्रिय सभामा सदस्यको उम्मेदवारसमेत रहनुभएका गृहमन्त्री रामबहादुर बादल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको विशेष चहल पहल देखिन्थ्यो । वर्षाका बीच मतदाताहरु लामबद्ध भएर रुझ्दै मतदानमा सहभागी भएको मतदान स्थलमा देखिन्थ्यो ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालयले मतदान शान्ति पूर्ण रुपमा भइरहेको जनाएको छ ।
दिउँसो १ः२० बजेसम्ममा प्रदेश सभा सदस्यका लागि तय भएको केन्द्र (क) मा ९५ जनाले मतदान गरिसक्नुभएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको केन्द्र (ख) मा २१२ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै, कोभिड १९ सुरक्षाका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्न बनाइएको मतदान केन्द्र (ग) मा २५ जनाले मतदान गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले मतदान सुरुभएको केही बेरमा नै मतदान गर्नुभएको थियो । यस्तै प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेशका मन्त्रीहरु, प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले मतदान गरिसक्नुभएको छ ।
निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
कोभिड १९ सङ्क्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन गराइएको थियो ।
उपनिर्वाचनमा नेकपा एमालेबाट बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ ।