logo
२०८१ मंसिर १२ बुधवार

  सन्दर्भः २५६५ औँ बुद्ध जयन्ती  



महाव्याधीमा विरामीको सेवामा जुटेकाहरुमा बुद्धभाव छचल्किएको छ

राष्ट्रिय |
समाज |


महाव्याधीमा विरामीको सेवामा जुटेकाहरुमा बुद्धभाव छचल्किएको छ


डा. दिनेशराज भुजु

आज बुद्ध जयन्ती, वैशाख पूर्णिमा । एउटा अनौठो योग छ वैशाख पूर्णिमाको । यहि दिन बुद्ध जन्मनुभयो । आजभन्दा २५ सय ८३ वर्ष पहिले । यहि दिन उहाँले ज्ञान प्राप्त गर्नुभयो । त्यतिखेर उहाँ ३५ वर्षको हुनुहुन्थयो र यहि दिन उहाँको अवसान भयो ८० वर्षको उमेरमा । मानव इतिहासमा यसरी लामो समय भन्नाले २५ सय वर्ष भन्दा बढी चर्चामा रहेका मानिस सम्भवतः सिद्धार्थ गौतम बुद्ध नै हुनहुन्छ होला । नाम चलेका त अरु पनि छन् । तर ती वास्तविक इतिहासभन्दा परका पात्र हुन् । ती यात दन्त्यकथा, यात पुराण, यात पौराणिक कथाका पात्र हुन्, जसलाई देवीदेवता भनिन्छ । सिद्धार्थ गौतम बुद्ध चाहिं तीभन्दा फरक, देवता वा देवदूत नभैकन हामीजस्तै आमाको कोखबाट जन्मेका, हामीले जस्तै दुःख सुख भोगेका, हामीले जस्तै हिंडेका, डुलेका र बोलेका । उहाँले आफूलाई कहिल्यै देवपुत्र वा देवावतार भनी भन्नु भएन नत देवदूत नै भन्नुभयो । पुत्र हुनहुन्थ्याे त मायादेवी गौतमीका । यसकारण नाम पनि उहाँको नाम सिद्धार्थ गौतम रहन गयो।

किंबदन्ती त बुद्धका पनि छन् । त्यसोत उहाँका भक्तहरुले र हामी नै पनि भगवान बुद्ध भनी पुकार्छौं । तर खासमा उहाँ मूर्तीपूजा समेतका विरोधी हुनुहुन्थ्या । हिन्दूहरुले त उहाँलाई विष्णुको नवौें अवतार नै मानिदिए । वास्तवमा उहाँ त्यतिखेरको हिन्दू परम्पराकै पनि आलोचक हुनुहुन्थयो । सिद्धार्थ गौतम राजा सुद्धोदनको परिवारमा जन्मनुभयो । उहाँ राजकुमार नै हुनुहुन्थ्या । तर उहाँलाई राजसिंहासनमा अभिरुचि भएन । उहाँलाई राजनीतिभन्दा जननीति मनपर्यो । जीवननीतिमा उहाँको आस्था रह्यो । मानिस राजनीति र राजसिंहासनका निम्ति मरिहत्ते गर्छन् वा मारीहत्या पनि गर्छन् । तर सिद्धार्थ गौतमले सजिलै पाएको सुविधा र अधिकार पनि त्यागे र वनतिर हिंड्नुभयो । श्रीमती थिए यशोधरा, छोरा थियो राहुल, भर्खर जन्मेका ।

सिद्धार्थ गौतमले गृहत्याग किन गर्नुभयो? धेरैले पढेको र सुनेको कुरा के हो भने सिद्धार्थलाई उहाँकाका बुवाले ठूलो नहुञ्जेल दरवारभित्रैै राख्नुभयो, बाहिरी संसारभन्दा अलग्ग र राजकाजमा लगाउन चाहे । एकदिन उहाँ दरवारबाट बाहिर जानुभयो । बाहिर उहाँले असक्त रोगी देख्नुभयो, बुढाबुढी देख्नुभयो र मरेका मानिस पनि देख्नुभयो । विरक्त भएर उहाँ गृहत्याग गरेर वन जानुभयो । हामीले पढेको र सुनेको यो कुरा बढी कथा जस्तो लाग्छ । हुनपनि यो कथा नै रचना गरिएको हुनुपर्छ । किनभने सिद्धार्थ गौतमले गृहत्याग गर्नुका पछाडि अर्कै ठूलो कारण छ, जसलाई प्रमाणसहित र तर्कसंगत ढंगले अम्बेडकरले प्रस्तुत गर्नुभएको छ । डा. भीमराव अम्बेडकरले गणतन्त्र भारतको संविधान लेख्नु भएको थियो । उहाँ अम्बेडकरको एउटा पुस्तक छ, बुद्ध र उहाँको धम्म । उक्त पुस्तकमा सिद्धार्थ गौतमले कुन परिस्थितिमा गृहत्याग गर्नु परेको थियो भन्ने कुराको पनि बयान छ ।

अम्बेडकरको बयान अनुसार शाक्यवंश अर्थात सिद्धार्थ गौतमको कूल वंशको राज्य कपिलवस्तुमा थियो। यो कोलीय राज्यसँग जोडिएको थियो । शाक्य र कोलीयहरुको राज्यलाई एउटा नदीले छुट्याएको थियो, नाम थियो रोहिणी । शाक्य र कोलीय राज्यका जनताले रोहिणी नदीको पानीबाट आआफ्ना खेतमा सिंचाइ गथ्र्ये र बाली कमाउँथ्ये । तर कसले पहिले र कति मात्रामा भन्ने विषयमा ती दुई राज्यबीच जहिल्यै विवाद हुने गथ्र्यो । यसै क्रममा एउटा वर्ष विवाद चुलियो, मारपीट चल्यो, लडाईं हुने भयो । शाक्य सेनापतिले कोलीयविरुद्ध युद्ध घोषणा गर्न संघमा प्रस्ताव ल्याए । शाक्यहरुको संघ एक प्रकारको संसद थियो जसमा सिद्धार्थ गौतम पनि एक सदस्य थिए । संघको छलफलमा उनले भने कि पानीकै लागि किन लडाईं गनुपर्यो? यो त प्राकृतिक श्रोत हो, सरसल्लाहमा मिलीजुली बाँडेर लिए त भैहाल्यो नि । उहाँले प्रस्ताव राखे कि कोलीयसित लडाईं होइन पानी बाँडफाँडका सम्बन्धमा वार्ता गरी सधैंको लागि युद्धको अन्त गरौं । तर युद्ध उन्माद बोकेका सेनापतिले उहाँको कुरा अस्वीकार गरे । संघमा मतदान भयो, कसको पक्षमा बढी मत छ भनेर । मतदान हुँदा सेनापति पक्षमा धेरै सदस्य गए । अर्थात कोलीयसित वार्ता होइन लडाईं गर्ने पक्षको जीत भयोे ।

सिद्धार्थ गौतमले मतदानमा पराजय भएका कारण तीनवटा विकल्पहरुमध्ये एउटा रोज्नुपर्ने भयो । पहिलो विकल्प सेनापतिका कुरामा सहमत भएर युद्धमा जाने, दोस्रो आफ्ना सारा परिवारको सर्वस्वहरण गराई समाजबाट वहिस्कृत हुने र तेस्रो निर्वासन या मृत्युदण्ड । सिद्धार्थ गौतमले यी विकल्पहरुमध्ये तेश्रो अर्थात निर्वासनलाई रोज्नुभयो र उहाँ आफ्नो घर परिवार र राजकाज त्यागेर जंगल जानुभयो । ज्ञान प्राप्तिको उनको अभ्यास र अभियान बस् त्यहिंबाट शुरु हुन्छ । उहाँले प्राप्त गरेको ज्ञान अथाह छ, जुन उनले मृत्युशैया पुगुन्जेल पनि सबैसित बाँडिरहनुभयो ।

सारांशमा भन्दा बुद्धको ज्ञानले तीन कुरा भन्छः एक संसारमा दुःख छ, दुइ दुःखको कारण छ, र तीन दुःखको अन्त गर्ने मार्ग छ । हजारौं वर्षदेखि ऋषिमुनि, विद्धान विदूषीहरुले निरन्तर खोज गर्दै आएको प्रश्नको उत्तर सिद्धार्थ गौतमले दिनुभयो । धेरैले उहाँलाई प्रश्न गर्ने गर्छन् र उत्तर पाउने अपेक्षाले उहाँकहाँ जान्थ्ये । तर सिद्धार्थ गौतम जो ज्ञानी र बुद्ध भैसक्नुभयो उहाँले भन्ने गर्नुहुन्थ्या हरेक वस्तुमाथि सन्देह गर । अर्थात प्रश्न गर्नु र आफ्नो उज्यालो आफै भेट्टाउनु । यस अर्थमा ज्ञान पत्ता लगाउने सिद्धार्थ गौतमको जुन विधि छ त्यो विधि वैज्ञानिक छ । उहाँले अंगालेको विधि वैज्ञानिक विधि थियो । विज्ञानले पनि यही त भन्छः हरेक वस्तुमाथि प्रश्न गर, सन्देह गर । प्रश्न र सन्देह नै विज्ञानका आधार हो र यसको गतिशीलता हो ।

यतिखेर हामी वैश्विक महाव्याधी कोभिड १९ को भीषण अवस्थाबाट गुज्रिरहेका छौं । एउटा प्रश्न स्वतः उठ्छ, के गौतम बुद्धको समयमा महामारी थियो? त्यतिवेला पनि महामारीले मानिसको मृत्यु हुन्थ्यो? अध्ययनहरुबाट के देखिएको छ भने ऋग्वेदमा शिपादा भन्ने रोगको लक्षणबारे उल्लेख छ । जसको अर्थ छालाको रोग, सम्भवतः विफर भन्ने लाग्छ । ऋग्वेद करिब आठ हजार वर्ष पुरानोे ग्रन्थ मानिन्छ । त्यस्तै कलेरा (हैजा) को विषयमा सुश्रुतसंहितामा उल्लेख भएको पाइएको छ । यो ग्रन्थ पनि त्यस्तै २६ सय वर्ष पुरानो मानिन्छ । भन्नुको अर्थ सिद्धार्थ गौतमको समयमा पनि रोगव्याधीहरु प्रशस्त थिए । महामारीबाट हजारौं लाखौं मानिसको मृत्यु हुन्थ्यो ।

स्वास्थ्य उपचार, रोगव्याधी र स्वस्थ खानाका विषयमा बुद्धका वचनहरु विनयपित्तका, सुत्तपित्तका जस्ता ग्रन्थहरुमा उल्लेखित रहेछन् । बुद्ध दर्शनमा स्वास्थ्यलाई मूलतः दुई भागमा विभाजित गरिएको छ, शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य । बुद्धका अनुसार केही मानिसहरु शारीरिक बिमारीबाट टाढा रहन सक्छन् । यसलाई पनि उहाँले दुई भागमा बाँड्नु भएको छ ्ः निको हुने र निको नहुने । उहाँका अनुसार स्वास्थ्यलाई प्रभाव पार्ने तत्व भनेको प्राकृतिक तत्व हुन् जुन पाँच प्रकारका छन्ः मौसम, बीजखाद्य, काम, चित्त र धम्म । कोरोना भाइरस र यसबाट भइरहेको कोभिड १९ महाव्याधीको कारण केलाउँदा पनि यस्तै मानव कृयाकलाप र प्राकृतिक तत्वहरुमा निहित देखिन्छ ।

बुद्धको जीवनीमा एउटा बडो घतलाग्दो घटना छ । उहाँ एकदिन आफ्ना शिष्य आनन्दसित आश्रम फर्किंदा एकजना भिक्षु अशक्त भई जमिनमा लडिराखेको हुन्छन् । उहाँको सेवामा त्यहाँ कोही हुँदैन । उसलाई हैजा लागेको रहेछ र उ दीनहीन अवस्थामा हुनुहुन्थयो । बुद्धले तत्कालै बिरामीकोे सेवामा जुट्नुभयो । आनन्दलाई पानी मगाउँनुभयो, दिसा पखाली दिनुभयो, र नुहाइ दिनुभयो । जम्मा भएका शिष्यहरुलाई बुद्धले सम्झाउनु हुन्छ “जसले रोगीको सेवा गरेको हुन्छ वास्तवमा उसले मेरो सेवा गरेको हुन्छ ।” थपेर उहाँले भन्नुभयो “गुरु बिसंचो भएमा शिष्यले हेरचाह गर्नु पर्छ, शिष्य बिसंचो भएमा गुरुले हेरचाह गर्नु पर्छ । दुबै नभएमा संघले हेरचाह गर्नु पर्छ।”

आज कोभिड–१९ को यो वैश्विक महाव्याधीमा हजारौं लाखौं चिकित्सक र नर्सहरु यसरी नै बिरामीको सेवा र उपचारमा जुटिरहेका छन् । ती सबैमा बुद्धभाव छचल्किरहेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?