logo
२०८१ बैशाख २५ मंगलवार

  मेलम्चीको बाढी बारे स्थानीय अधिकारीको अनुभव  



हेलम्बुमा जनको मेलम्चीमा धनको बढी क्षति

राष्ट्रिय |


हेलम्बुमा जनको मेलम्चीमा धनको बढी क्षति
तस्विरः सागर बस्नेत


आशा साह
काठमाडौं, असार ३ गते । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको बाढीका कारण कयौं मानिस विस्थापित भए भने सात जनाको मृत्यु भएको छ । मृतकमध्ये एकको पहिचान खुल्न सकेको छैन भने ६० जनाको उद्धार गरिएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची नदीमा मंगलबार रातिबाट आएको बाढीले हेलम्बु र मेलम्ची बजारमा मानवीय संरचनाहरुमा क्षति पुर्याएको बताउनुभएको छ ।
उहाँले अहिलेसम्मको क्षतिको विश्लेषण अनुसार हेलम्बुमा बढी क्षति पुगेको अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार हेलम्बुमा मानवीय क्षति धेरै भएको र मेलम्चीमा धनको क्षति धेरै भएको छ ।
‘हेलम्बुमा मानवीय क्षति बढी र मेलम्चीमा भौतिक संरचनाका क्षति बढी भएको छ,’ उहाँले भन्नुभयो, ‘मेलम्चीमा मानवीय क्षति भएनन् तर भौतिक संरचानको क्षति बढी भयो । मेलम्ची बजार बगर परिणत भएको र यहाँ घरहरु नै नदीमा परेका छन् ।’
त्यस्तै बाढीले पाँच वटा झोलुङ्गे पुल, चार वठा पक्की पुल, पाँच वटा माछा फर्म र नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकमा क्षति पुगेको छ । यो अहिलेसम्मको अनुमानित क्षतिको विवरण रहेको उहाँले बताउनुभयो ।
हेलम्बु र मेलम्चीमा बिजुली र टेलिफोन सम्पर्क समेत अवरुद्ध भएको विषयमा उहाँले मेलम्चीमा बिजुली अवरुद्ध नभएको बताउनुभयो । तर, हेलम्बुमा भने विजुली अवरुद्ध भएको छ ।
‘मेलम्चीमा बिजुली अवरुद्ध भएको छैन तर हेलम्बु पाँच पोखरी क्षेत्रमा भने बिजुली अवरुद्ध भएको छ । त्यहाँ बाढीले ट्रान्समिटर बगाएको छ । जसले गर्दा त्यहाँ बिजुली सूचारु हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसलाई मर्मत गर्न केही समय लाग्छ । यद्यपी हामीले बिजुली र टेलिफोनको लाइनमा आएको समस्याबारे प्राधिकरण र टेलिकमलाई पत्र लेखेर जानकारी गराएका छौं । सकेसम्म चाँडै मर्मत गर्ने प्रयासमा प्राधिकरण लागेको छ ।’
बाढीले स्थलमार्ग अवरुद्ध भएका कारण हेलम्बु जान समस्या भएको छ । त्यसले गर्दा मर्मत सम्भावरमा गर्न समस्या भएको उहाँले बताउनुहुन्छ । अहिले त्यस क्षेत्रको अवस्था कस्तो ? भनेर जिज्ञासा राख्दा उहाँले अहिले पानीको सतह हिजो अस्ति भने अलि कम रहेको बताउनुभयो ।
बाढीको सम्भावना बारे उहाँले पुनः बाढी आउनसक्ने सम्भावना रहेको बताउनुभयो । ‘पुनः बाढी आउनसक्ने सम्भावना छ तर यसलाई यसै भन्न सकिन्न । किन भने यो वर्षातको महिना भएकोले कहिले कुन समयमा बाढी आउँछ त्यो भन्न सकिँदैन । हिजो अस्ति जस्तै वर्षा निरन्तर आइरह्यो भने बाढी आउने सम्भावना छ,’ उहाँले भन्नुभयो
साथै उहाँले मेलम्ची बाढीग्रस्त क्षेत्र रहेको बताउनुभयो । ‘बाढीको लागि जोखिम क्षेत्र हो, मेलम्ची । मेलम्ची बाढी जोखिम क्षेत्र भनेर पहिले नै भनिसकेका थियौं । तर, यहाँका बासिन्दाले यसलाई बेवास्ता गर्दै आउनुभयो । त्यसको परिणामा पछिल्लो समयले देखाएको छ ।’
‘विपत्तको पूर्व अनुमान गर्न गाह्रो छ । तर, पनि हामी सचेत चाहि हुनुपर्छ,’ उहाँले भन्नुभयो । बाढी पीडितको बसोबास र तत्काल राहतका लागि मेलम्ची नगरपालिकासँग समन्वय गरेर दुई स्थानमा व्यवस्था गरेको बताउनुभयो ।
उहाँले एउटा कार्यक्रम गणको खेल मैदान र इन्द्रेशवरी माविमा बाढी पीडित नागरिकका लागि बसोबासको व्यवस्था गरेको बताउनुभयो ।
‘कार्यक्रम गणको खेल मैदान तीन सय र इन्द्रेश्वरी माविमा करीब तीन सय बाढी पीडितलाई व्यवस्थापन गरेका छौं । त्यहाँ सामुहिक भोजन र बस्न त्रिपालहरुको व्यवस्था गरेका छौ,’ उहाँले भन्नुभयो ।
त्यस्तै हेलम्बुको लागि हेलम्बुका गाउँपालिकाका अध्यक्षसँग समन्वय गरेर त्यहाँका बाढी पीडित नागरिकको लागि व्यवस्थापन गर्ने कार्य गरेको उहाँले बताउनुभयो ।
यसको लागि नेपाली सेनाको हेलिकप्टरबाट हेलम्बु गाउँपालिकाका विभिन्न ठाउँमा पाल निर्माण गरेर बाढी पीडितलाई राख्ने काम भएको छ भने खाद्यान्य लगायतको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
‘हेलम्बुका गाउँपालिकाका अध्यक्षसँग नियमित सम्पर्कमा छु । त्यस क्षेत्रमा अवस्था जटिल नहोस् भनेर नेपाली सेनाको हेलिकप्टर नियमित रुपमा त्यहाँ पुगि रहेको छ,’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भन्नुभयो,‘आवश्यक पर्ने सामग्रीहरु पठाइरहेका छौ । त्यहाँ केही सामान आवश्यक पर्छ, के सहयोग गर्नुपर्छ भनेर हेलम्बुका अध्यक्षसँग निरन्तर सम्पर्कमा छौं । त्यहाँ कुनै पनि सामानहरुको अभाव हुन दिनएका छैनौ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?