logo
२०७९ मंसिर ११ आईतवार

  निर्वाचन आचारसंहिताको प्रभाव छापाखानासम्म  



झण्डा किन्ने ह्वात्तै बढे

मुख्य समाचार |
राजनीति |


झण्डा किन्ने ह्वात्तै बढे
छापाखानामा पार्टीको झण्डा र चुनाव चिह्न छाप्दै बागबजारका एक व्यापारी । तस्बिर : केशब गुरुङ्ग


काठमाडौं, चैत ३० गते। स्थानीय तहको निर्वाचन आचारसंहिताको प्रभाव छापाखानासम्म परेको छ। झण्डा किन्नेको सङ्ख्या ह्वात्तै बढेको छ भने निर्वाचन आचारसंहितामा अपनाइएको कडा नीतिले छापाखानामा भने त्यसको प्रत्यक्ष असर परेको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने गरी गत शुक्रबारदेखि लागू गरेको आचारसंहिताको असर छापाखानामा पनि परेकोे हो।

स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा बागबजारस्थित छापाखानामा चुनाव चिह्न अङ्कित सामग्री उत्पादन, बिक्री वितरण सोचेअनुसार नभएको व्यापारीले बताएका छन्। बागबजारस्थित एक छापाखाना सञ्चालक सुरज खड्गीले निर्वाचनका लागि झण्डा, टोपी र ब्याज मात्रै अडर आउने गरेको बताउनुहुन्छ। उहाँले झण्डाको साइज निर्वाचन आयोगले तोकेअनुसार बनाउने गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार, अहिले हरेक पार्टीका प्रतिनिधिले १५ सयदेखि दुई हजारसम्म झण्डा लैजाने गरेका छन्। आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा ७५ ग्रामसम्मको कागजमा तीन सय इन्चसम्म आकारको एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ३ह३ फिटसम्मको दलको झण्डा र सोही नापको चुनाव चिह्न र उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण वितरण गर्नसक्ने व्यवस्था गरेको छ।

निर्वाचन आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टि-सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न/गराउन नहुने व्यवस्था गरेको छ।

उहाँले भन्नुभयो, ‘‘प्रिन्ट गरेर राख्ने हो। कोहीँ लिन आउनुभयो भने पाँच हजार थान पनि लानुहुन्छ। कहिले दुई–तीन सय थान पनि जान्छ। अडरबिना नै छपाइ गरेर राख्ने अवस्था छ।’’ यसैगरी, ३५ वर्षदेखि छापाखाना सञ्चालन गर्दै आउनुभएका सञ्चालक विजयकुमार कार्कीले विगतका निर्वाचनमा भन्दा अहिले निकै कम व्यापार हुने गरेको बताउनुहुन्छ।

‘‘विगतका निर्वाचनमा चुनाव चिह्न ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला र ब्याजलगायतका सामग्री धेरै जान्थ्यो’’, उहाँले भन्नुभयो, ‘‘तर, यो पटकको निर्वाचन प्रचारप्रसारमा प्रयोग हुने टोपी, टि–सर्ट, ब्याचलगायतका अर्डर आउँथ्यो भने यो पटक अर्डर आएको छैन। झण्डाबाहेक अरु माग आएको छैन। झण्डामा सीमित भएको निर्वाचनका कारण विगतमा भन्दा यो पटक व्यापार निकै कम छ।’’

उहाँका अनुसार आयोगले सार्वजनिक ठाउँमा निर्वाचन प्रचारप्रसारका लागि झण्डा नराख्न आचारसंहिता लागू गरेको छ। उहाँले अहिले अर्डर अनुसार नै झण्डा बनाइराखेको बताउनुभयो। उहाँ भन्नुहुन्छ, ‘‘अर्डरकै झण्डा बनाइराखेका छौँ। यसका साथै दिनमा १०–२० वटा लिने मानिस पनि धेरै आइराख्नुभएको छ। यसैले हामीले स्टकका लागि पनि बनाइराखेका छौँ।’’ उहाँले झण्डा पनि आयोगले तोकेअनुसार नै बनाइराखेको बताउनुभयो।

यता, आयोगले राजनीतिक दल तथा उम्मेदवारले गर्ने जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा कार्यक्रम गर्दा सवारी साधन प्रयोग गर्दा सोही बमोजिमको आकार र सङ्ख्याको झण्डा र चुनाव चिह्न मात्र प्रयोग गर्न अनुरोध गरेको छ। यसैगरी, नयाँ बसपार्क क्षेत्रमा छापाखाना सञ्चालन गर्दै आउनुभएको दीपक पोखरेलले विगतको निर्वाचनको तुलनामा चुनाव प्रचारप्रसार अङ्कित सामग्रीको अर्डर खासै नआएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘वडा अध्यक्षको उम्मेदवारी चयन नभइसकेका कारणले पनि होला। पहिलाको भन्दा अहिले निकै कम छ, टि-सर्ट केहीँ मात्रा गएको छ, झण्डा चाहिँ धेरै जाने गरेको छ।’’ उहाँले एक महिनादेखि झण्डाको कारोबार हुन थालेको जानकारी दिनुभयो। ‘एक महिना जति भयो झण्डको कारोबार हुन थालेको छ। यस अवधिमा १० हजार जति झण्डा गयो।’’ उहाँले भन्नुभयो, ‘‘यसभन्दा अगाडि झण्डाको कारोबार हुने गरेको थिएन।’’ उहाँले झण्डाका लागि अहिलेसम्म तीनवटा पार्टी आउने गरेको बताउनुभयो।

तस्बिर : केशब गुरुङ्ग

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?