logo
२०८१ कार्तिक १५ बिहीवार



प्रदेश १ काे प्रदेशसभामा अवरोध, मङ्गलबारसम्म स्थगित

राष्ट्रिय |


प्रदेश १ काे प्रदेशसभामा अवरोध, मङ्गलबारसम्म स्थगित


गाेकुल पराजुली
विराटनगर, असार १४ गते । प्रदेशसभाको सोमबारको बैठक कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका सांसदहरुले संसदमा उठेर विरोध जनाएपछि बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको हो ।
आइतबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले विषयगत मन्त्रालयको विनियोजन सम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा ओखलढुङ्गाका सांसद तथा अर्थ समितिका सभापति मोहनकुमार खड्कालाई व्यक्तिगत रुपमा अमर्यादित ढङ्गले लाञ्छना लगाएको र संसदीय मर्यादा उल्लङ्घन गर्दै प्रस्तुत भएको भन्दै माओवादी केन्द्रले संसदमा माफी नमागेसम्म बैठक चल्न नदिने बताएको छ । माओवादी केन्द्रले मन्त्री गुरुङले संसदमा आएर क्षमायाचना गर्नुपर्ने र अमर्यादित भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेको हो ।
विषयगत छलफलका क्रममा सोमबार सामाजिक विकास मन्त्रालयको विनियोजनमाथि छलफल गर्ने कार्यसूचि थियो । तर, बैठक सुरु हुनु पहिलेनै सांसदहरुले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले दलको तर्फबाट भनाइ राख्न समय दिनुभएको थियो ।
संसदमा बोल्ने नेकपा मााओवादी केन्द्रका सांसद रामकुमार राईले भन्नुभयो ‘मन्त्री अमर्यादित ढंगबाट प्रस्तुत हुनुभएको छ, उहाँले संसदको रोष्ट्रममै आएर माफी माग्नु पर्छ र अमर्यादित भनाइ रेकर्डबाट हटाइनुपर्छ अन्यथा संसदको कारवाही अगाडि बढ्न सक्दैन ।’ विपक्षी सांसदहरुले आसनग्रहण नगरेपछि बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको छ ।
मन्त्री गुरुङ आइतबार संसदमा बोल्दै गर्दा व्यक्तिगत टिप्पणी गर्न थाल्नुभएपछि सभामुख भण्डारीले मन्त्रीलाई रोक्ने प्रयास गर्दै पाँच पटक रुलिङ गर्नुपरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?