logo
२०८१ जेष्ठ १ मंगलवार



सङ्क्रमण बढ्न नदिन पूर्वतयारी

राष्ट्रिय |


सङ्क्रमण बढ्न नदिन पूर्वतयारी



नगेन्द्र सापकोटा

भक्तपुर, असार २० गते । मध्यपुर थिमि नगरपालिकाले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक तयारी सुरु गरेको छ । हाल सङ्क्रमण दरमा केही कमी आए पनि पुनः बढ्न सक्ने भन्दै नगरपालिकाले पूर्वतयारी थालेको हो । नगरपालिकाको आफ्नै नगर अस्पताल नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा आवश्यक स्वास्थ्य पूर्वाधार तयारीको कार्य अघि बढाइएको हो ।
नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले तेस्रो लहरबाट बालबालिकालाई विशेष प्रभाव पार्न सक्ने सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाले नगर अस्पताल र स्वास्थ्य केन्द्रमा बालबालिकाका लागि विशेष वार्डको व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो । स्वास्थ्य विज्ञहरूले दोस्रोभन्दा तेस्रो लहर बढी सङ्क्रामक हुन सक्ने सुझाव दिइरहेका बेला त्यसको प्रतिरक्षा गर्न आवश्यक स्वास्थ्य पूर्वाधार तयारी थालिएको जनाइएको छ ।
“नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम पूर्ण रूपमा कोरोनाविरुद्ध प्रतिरक्षा गर्न केन्द्रित भएर बनेको छ” उहाँले भन्नुभयो, “कोरोना भाइरसको तेस्रो लहरले बालबालिकालाई विशेष प्रभाव पार्न सक्ने भएकोले नगर अस्पतालमा बालबालिकालाई विशेष वार्डको व्यवस्था गर्ने नीति बनाइएको छ ।”
कोरोना परीक्षण वडा कार्यालयबाट सिफारिस भएबमोजिम नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल र अन्य उपयुक्त स्थानमा निःशुल्क गर्ने, सङ्क्रमित गरिब र असहायको निःशुल्क उपचारका लागि गरिब–असहाय पहिचान समिति गठन गर्ने, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
अहिले नगर अस्पतालमा स्वास्थ्य पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिँदै नगरपालिकाले कोरोना प्रतिकार्य अस्पतालका रूपमा विकास गरेको छ । अस्पतालमा अहिले कोरोना सङ्क्रमितसँगै अन्य बिरामीको पनि सहज उपचारको व्यवस्था गरिएको छ । नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले नगर अस्पतालमा अक्सिजन थेरापीका लागि आकस्मिक सेवा, १४ शøयाको एचडीयू, १५ शøयाको आईसीयू र १० वटा भेन्टिलेटर सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नगरपालिकाले आवासीयसहितको ७० शøयाको आइसोलेसन र पीसीआर ल्याब सञ्चालन गरेको छ । अस्पतालले कोभिड एम्बुलेन्स, सामान्य एम्बुलेन्स, कोभिड अप्रेसन वार्डबाट सेवा प्रवाह गरेको छ । एकीकृत रूपमा स्वास्थ्य क्षेत्रमा यति धेरै काम गर्नेमा आफूहरू पहिलो भएको दाबी श्रेष्ठले गर्नुभयो ।
कोरोनाको सङ्क्रमण पुनः बढ्दै गएमा सरकारले पुनः निषेधाज्ञा जारी गर्न सक्ने अवस्थाप्रति सचेतता अपनाउँदै दैनिक ज्याला मजदुरी गरी खाने नागरिकलाई राहत प्रदान गर्न राहत कोष खडा गर्ने, नगरभित्रका दीर्घरोगीका बिरामीको लगत सङ्कलन गरी सहुलियत दरमा औषधि उपलब्ध गराउने नीति नगरपालिकाको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकमार (डीके) रौशनले अस्पतालको क्षमता विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने काममा अहिले नगरपालिका र अस्पताल सक्रिय रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?