logo
२०८१ बैशाख २१ शुक्रवार

  राती ८ बजेपछिको सवारी सञ्चालन रोक कति प्रभावकारी ?  



दिउँसो सङ्क्रमणको खतरा छ : विज्ञ, वैज्ञानिक आधार छैन : व्यबसायी

राष्ट्रिय |


दिउँसो सङ्क्रमणको खतरा छ : विज्ञ, वैज्ञानिक आधार छैन : व्यबसायी


काठमाडौं, साउन ३२ गते । पछिल्लो केही सातादेखि काठमाडौं उपत्यकामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीले साउन २८ गते राति ८ बजेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गर्यो ।

प्रजिअको सवारी साधान सञ्चालनमा रोक लगाउने निर्णय उपत्यकामा प्रभावकारी देखिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव शर्मा दासले बताउनुभयो । राति ८ बजेपछि लगभग काठमाडौंका सडक खालि नै हुने गरेको उहाँको भनाइ छ ।

उपत्यकाको पुनः सङ्क्रमितको बढ्न थालेपछि रातिको समयमा सवारी साधान सञ्चालन बन्द गर्ने निर्णय भयो, तर पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा खासै कमी नआएको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले बताउनुभयो ।

‘खासमा कोरोना सङ्क्रमण कसरी फैलिन भन्ने कुरा बुझ्न आवश्यक छ । जहाँ धेरै मानिसहरुको जमघट हुन्छ, त्यस्तो ठाउँमा कोरोना सङ्क्रमण फैलिने सक्ने सभवना प्रबल हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो हिसाबले जमघट सामान्यतया दिउँसो हुन्छ, जस्तै–सभा, सम्मेलन, जुलुस । यो अवस्था सङ्क्रमण फैलिन सक्ने हुन्छ । यसबेला स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने हुन्छ ।’

उहाँले राति सामान्य सबै जना आआफ्नो घर पुगिसकेको हुने बताउनुभयो । उहाँले थप्दै भन्नुभयो, ‘राति हिँड्न नदिएर के गर्नु, घर फर्किएका कोही सङ्क्रमित हुन सक्नुहुन्छ । उहाँले सङ्क्रमण मुक्त परिवारका सदस्यलाई कोरोना सार्न सक्ने सम्भावना हुन्छ । यसलाई रोक्ने राति बन्द गरेर हुँदैन । दिउँसो हुने भीडभाड कसरी नियन्त्रण गर्ने भन्ने तर्फ सोच्न आवश्यक छ ।’

‘राति होटल, रेस्टुडेन्टलगायत रात्रिकालीन व्यवसाय खासै सञ्चालनमा आइसकेको छैन, जुन दिउँसोको तुलनामा कम छ,’ उहाँले भन्नुभयो,‘राति हैन दिउँसो कोरोना सङ्क्रमण फैलिने सम्भावना धेरै छ ।’

राती ८ बजेपछि सुनसान हुन्छ सडक
यता काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव शर्मा दासले रातिको समयमा सवारी साधान पूरै बन्द भएको बताउनुभयो । जसले गर्दा राति सवारी साधान सञ्चालनमा रोक लगाउने निर्णय प्रभावकारी नै देखिएको उहाँले बताउनुभयो ।

तर, केही फाट्टफुट्ट सवारी साधन भने सञ्चालन भएको एसपी दासले बताउनुभयो केही बैंक राती ९–१० बजेसम्म खुल्लै हुन्छ । जसले गर्दा बैंक, सेक्यूरेटि गार्ड, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतका गाडी भने राति सञ्चालन हुने गरेको छ,’ ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव शर्मा दासले भन्नुभयो ।

राति ८ बजेपछि लगभग काठमाडौंका सडक खालि नै हुन्छ । तर, राति चल्ने लामो दूरीका यातायात भने सञ्चालन भइरहेको उहाँले बताउनुभयो । लामो दूरीका यातायातमा अनुगमन, मास्क वितरण गर्नेदेखि अन्य स्वास्थ्य मापदण्डका बारे सचेत गराउने काम भइरहेको समेत उहाँले बताउनुभयो ।

उहाँले सिट क्षमताभन्दा बढी यात्रु राख्ने सार्वजनिक यातायात कारबाहीमा परेको बताउनुभयो । आइतबार बिहान १० बजेसम्म काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रमा क्षमताभन्दा बढी यात्रु राख्ने बस ६५ वटा बस र टेम्पु, माइक्रो र निजी गाडी गरी १८८ वटा कारबाहीमा परेको जानकारी उहाँले दिनुभयो । यो अवधिमा ९०३ वटा मास्क वितरण गरिएको समेत उहाँले बताउनुभयो ।

उहाँले पहिलो पटक पाँच सय, त्यसपछि एक हजार, त्यसपछि १५ सय लिएर काबारही गर्ने गरेको बताउनुभयो । यति कारबाही गर्दा पनि नभएपछि यातायात पठाइदिने अनि यातायातले कारबाही गर्ने गरेको छ । उहाँले यो पटक धेरै कारबाहीमा परेको देखेर आफू छक्क परेको पनि बताउनुभयो ।

बैज्ञानिक आधार छैन
यसैगरी रातिको यातायात बन्द गर्नु कुनै वैज्ञानिक आधार नभएको र यो प्रभावकारी नहुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद सिटौलाले बताउनुभयो ।

‘भीडभाड त दिउँसो हुन्छ, तर राति कुन हिसाबले सार्वजनिक यातायत सञ्चालनमा रोक लगाइयो ?,’ महासचिव सिटौलेले भन्नुभयो, ‘सवारी साधान सञ्चालन भएपछि राति सञ्चालन हुने होटल, रेस्टुडेन्टलगायत स्थानमा धेरै चहलपहल हुने भएका कारण कोरोना सङ्क्रमणमा बढ्दै गएको भनेर होला राति सवारी साधान सञ्चालनमा रोक लगाएको ।’

राति ९–१० बजेसम्म सार्वजनिक यातायात सञ्चालन हुन्थ्यो । अहिले राति ८ बजेबाट बन्द छ, यसले केही मात्रामा भए पनि यातायात व्यवसायीलाई असर पारेको उहाँले बताउनुभयो ।

‘दिउँसो विगतका दिनमाभन्दा पनि धेरै मानिसहरु बाहिर निस्केको देखिन्छ । स्वास्थ्य मापदण्डको पालना भएको छैन । मास्क लगाएको देख्निछ तर मास्क कसरी लगाउने त्यसमा ध्यान दिइएको देखिदैन,’ उहाँले भन्नुभयो ‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा हरेको सहकार्य आवश्यक छ । तर, कसैको पेश व्यवसाय नै बन्द गर्नु भएन । यो एउटा प्रख्यात हुने कुरा मात्र देखियो ।’

कोरोना महामारीलाई नियन्त्रण गर्नु छ भने बिहानैदेखि कडाइ गर्नुपर्ने उहाँको भनाइ छ । यो त यति कोरोना देखियो भन्दै मानिसलाई त्रसित गराउने काम मात्र भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद सिटौलाले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?