logo
२०८१ बैशाख २२ शनिवार



सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एस) बन्यो सबैभन्दा ठूलो दल

राष्ट्रिय |


सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एस) बन्यो सबैभन्दा ठूलो दल



प्रकाशविक्रम शाह/अविनाश चौधरी
धनगढी, भदौ २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।
१४ जना प्रदेश सभा सदस्यहरुले एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई साथ दिनुभएपछि सो पार्टी सबैभन्दा ठूलो दल बनेको हो ।
आइतबारसम्म १३ जना मात्र रहेको नेकपा (एस) मा सोमबार प्रदेशसभा सदस्य माया तामाङ बोहरा थपिएपछि सो संख्या १४ पुगेको हो । निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म एमालेबाट अलग्गिनेहरुलाई दल छान्न पाउने समय दिएको छ ।
१४ जना नेकपा (एस) मा गएपछि अहिले एमालेसित १० जना प्रदेश सभा सदस्य मात्र रहेका छन् । एमाले फुट्नु अघि सो दलमा २५ जना प्रदेश सभा सदस्य रहेका थिए । २५ मध्येका एक जना अर्जुनबहादुर थापा सभामुख हुनुहुन्छ । कानुन अनुसार सभामुख कतै खुल्नु पर्ने वाध्यता छैन ।
सुदूरपश्चिम प्रदेश सभामा १४ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल, १३ सदस्यीय नेकपा (माओवादी केन्द्र) दोस्रो, १२ सदस्यीय नेपाली काङ्ग्रेस तेस्रो, १० सदस्यीय एमाले चौथो र दुई सदस्यीय तत्कालिन राजपा पाँचौ दल बनेका छन् । फुटेको राजपा दुई प्रदेश सभा सदस्यहरुले कुन दल रोज्ने अझै स्पष्ट भएको छैन ।
५३ सदस्य रहने व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रले एकजना झपट बोहरालाई हटाएपछि ५२ सदस्यीय मात्र रहेको छ । बोहरा एमाले प्रवेश गरेपछि माओवादीले हटाएको हो ।
नेकपा (एस) ठूलो दल बनेपछि सत्ता समिकरण बदलिने अनुमान गरिए पनि भौतिक पूर्वाधार विकासमन्त्री तथा सो दलका नेता दीर्घबहादुर सोडारीले अहिले वर्तमान सरकार नै कायम रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, नेकपा (एस ) र माओवादीकै सरकार कायम रहन्छ तर केही मन्त्री फेरबदल हुन सक्छन् ।
सरकारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज एमालेतिरै रहने भएपछि उहाँहरु सरकारबाट बाहिरिने बताइएको छ ।
सुदूरपश्चिममा शुरुदेखि नै एमाले र माओवादीको संयुक्त सरकार सञ्चालन भइरहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?